
नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका–२३ का वडाध्यक्ष मोहम्मद हुसेन शेषले पालेका बाख्रामध्ये पाठापाठीसहित ४ वटा मरे। सोही वडाका नियाजी दर्जीले ५ वटा बाख्रा र खसी गुमाए। शलिम शेखको त १६ हजार रुपैयाँ मोलमा नबेचेर राखेको खसी नै मर्यो।
नेपालगन्ज उप–महानगरपालिका–२३ मा पर्ने भज्जीपूर्वा, लोहारनपूर्वा र जंगलीपूर्वामा एक साताको अवधिमा ५६ वटा खसीबाख्रा मरेको वडाध्यक्ष शेषले बताए। उनले भने, ‘खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, आँखामा चेप्रा पर्ने लक्षण देखिएका खसीबाख्रा हेर्दा हेदै मरे।’ नेपालगन्ज उपमहानगरपालिकाले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँगको सहकार्यमा शनिबार महामारी फैलिएको वडाका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको थियो।
शिविरमा ११७ घरधुरीका आठ सय ६४ वटा खसीबोका र बाख्राको स्वास्थ्य परीक्षण गरी औषधि उपचार गरिएको थियो। उपचारमा संलग्न विज्ञ केन्द्रका पशु विकास अधिकृत डा। गणेशबहादुर पुनले बाख्रामा पीपीआएर रोग लागेको बताए। ‘५० वटा जति मरिसकेका थिए। उपचार गर्दा गर्दैै थप ६ वटा मरे। शिविरमा उपचार गरेपछि महामारी नियन्त्रणमा आएको छ’, उनले भने।
यसअघि गत वर्षको मंसिरमा डुडुवा गाउँपालिका ५ को पदमपुरमा पनि पीपीआरको महामारी भएको थियो। राप्ती सोनारी र खजुरा गाउँपालिकाको एलगाउँमा पीपीआर रोगको महामारी देखिएको थियो। बाँकेमा बाख्रामा लागेको रोग पहिचान गर्ने प्रयोगशाला नहुँदा सुर्खेतमा नमूना संकलन गरेर पठाउनु पर्ने बाध्यता छ। विगतमा खजुरा गाउँपालिकाको पशु स्वास्थ्य शाखामा काम गरेका डा। पुनले अनुभव सुनाए, ‘एलगाउँमा ६ वटा बाख्रा मरेका थिए। ९५ वटाको उपचारपछि निको पारिएको थियो। कुन रोग लाग्यो भनेर नमूना पठाउँदा चार महिनापछि मात्र पीपीआर भएको रिपोर्ट आएको थियो।’
खजुराको जस्तै अवस्था गत वर्ष पीपीआरको महामारी हुँदा डुडुवा गाउँपालिकाले पनि भोगेको थियो। रोग पहिचान हुँदा नियन्त्रणमा आइसकेको गाउँपालिका पशु प्राविधिक शंकर यादवले बताए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।












