२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ वर्षपछि बन्यो सडक



अ+ अ-

जाजरकोट । विश्व बैंकले जिम्मा लिएको छिन्चु–जाजरकोट सडक निर्माण कार्य द्रुतगतिमा भइरहेको थियो। तर तत्कालीन विद्रोही माओवादीले २०५४ सालमा सडक निर्माणको क्रममा ब्लाष्टिङ गर्न आवश्यक विष्फोटक पदार्थ लुटेर लिएपछि विश्वबैंकले असुरक्षाको कारण देखाउँदै ठेक्का सम्झौता तोड्यो। लामो समय सडक निर्माण अलपत्र परेपछि जाजरकोट राष्ट्रिय सडक सञ्जालमासमेत जोडिन सकेन।

असुरक्षाका कारण अन्य निकायबाट सडक निर्माण हुननसकेपछि तत्कालीन सरकारले उक्त सडक निर्माणको जिम्मा नेपाली सेनालाई दियो। त्यतिबेलै राष्ट्रिय सडक सञ्जालमा विकट जिल्ला जाजरकोट र पश्चिम रुकुमको चौरजहारीलाई जोड्ने महत्वपुर्ण जिम्मेवारीका साथ नेपाली सेनाको सडक निर्माण कार्यदलले २०६१ जेठ १४ मा सल्यानको सल्लीबजार र जाजरकोटको ज्यामीरे कालापहाडमा बेस क्याम्प खडा गर्यो।

सल्लीबजार देवस्थल कैयनडाँडा हुदै चौरजहारीसम्मको ४१ किलोमिटर र सुर्खेतको औलझ्याम हुँदै जाजरकोट खलङ्गासम्मको ४५ किलोमिटर सडकको निर्माण कार्य एकै साथ सुरु भयो। नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा कडा चट्टानको कालापाहाड फोड्दै तीन वर्षको अवधिमै २०६४ सालमा जाजरकोट सदरमुकाम खलंगामा मोटरबाटो पुग्यो। हेर्दैमा कहाली लाग्दो र कडा चट्टानी पहाड नामैले कालापहाडलाई छिचोलेर जाजरकोट खलंगामा बाटो लैजानु नेपाली सेनाको लागि चुनौती थियो।

सेनाका लागि विद्रोही माओवादी आक्रमणबाट जोगिएर काम गर्नु त छँदै थियो। तर छिन्चु–जाजरकोट र देवस्थल चौरजहारी सडकको सफलरुपमा निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले एक सय १८ किलोमिटर लम्बाईको जाजरकोट डोल्पा सडक निर्माण गर्ने थप जिम्मेवारी पनि पायो। ०६५ सालमा रिम्नादेखि जाजरकोटको भूभाग भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर डोल्पा जोड्ने भन्ने रेखाङकन विवादले दुई वर्ष सडक निर्माण कार्य पछाडि धकेलियो।

अन्तत रेखाङकन विवाद समाधानपछि आर्थिक वर्ष ०६६/६७ बाट जाजरकोटको पासागाडलाई जिरोबिन्दु मानेर सेनाले सडक निर्माण कार्यलाई अगाडि बढायो। जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको एक सय १८ किलोमिटर लम्बाईको सडकको ट्र्याक खोल्ने कार्य सफल रुपमा पूरागरेर नेपाली सेना हालै फर्किएको हो। करिब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले तत्कालिन विषम परिस्थितीका बावजुद पनि सडक निर्माण कार्यको लक्ष्य पूरा गरेर फर्किएको हो।

सडक निर्माणको क्रममा जाजरकोटदेखि डोल्पाको विभिन्न सात स्थानमा खडा गरिएका बेस क्याम्प उठाएर ब्यारेक फर्किएको निर्माण कार्यदलले जनाएको छ। भौगोलिक विकटतालाइसमेत चिरेर सरकारले दिएको जिम्मेवारी र डोल्पासम्म सडक पुर्‍याउने सरकारको लक्ष्यलाई सफल रुपमा पूरा गरेर डोल्पालीको भाग्य निर्माणको आधार मानिएको सडक आयोजना हस्तान्तरण गरिएको जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल पहाडीले बताए।

विभिन्न अस्थायी निर्माण बेस क्याम्प उठाएर फर्कन क्रममा सेनालाई स्थानीयले फूलमाला, अविर, टिका र खादा लगाएर विदाइ गरेका छन्। डोल्पा त्रिपुराकोटका विष्णु न्यौपानेले भने ‘नेपाली सेनाले सडक निर्माणको जिम्मा नलिएको भए अहिले नै डोल्पामा सडक पुग्ने थिएन, अझै कैयौं वर्ष सडककै सपनामा बाँच्नुथ्र्यो। ’

यस्तै सडक खण्डमा पर्ने नलगाड, तल्लुवगर, करवगाड, हरियापानी, चुँगाड, छलगाड, भेरीनदी र रुपगाडलगायतका दर्जन बढी ठाँउमा मोटरेबल पुल बनाउनुुपर्नेछ। पुलको अहिले सम्म टेन्डरनै भएको छैन। मोटरेबल पुल बनाउने जिम्मा सडक डिभिजन कार्यालयको हो। सडक डिभिजनले केही समयभित्रै पुलको टेन्डर गर्ने तयारी गरेको छ। , समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।