२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अंग्रेजबीच भएको बहुचर्चित सुगौली सन्धिको मूल प्रतिबारे सरकार नै अनभिज्ञ



अ+ अ-

काठमाडौं । समितिले न पुराना सन्धिरसम्झौता भेट्यो न खोजेअनुसार ‘ग्रेटर नेपाल’को सक्कलीप्रति भेट्यो । ऐतिहासिक महत्वका दस्ताबेजहरूको खोजी, संरक्षण र संवद्र्धन गर्ने भनेर खटिएको समिति कहीँकतै त्यस्ता ऐतिहासिक र पुरातात्विक महत्वका सामग्री भएको छनक नपाएपछि निराश बन्यो । त्यसपछि समितिले सरकारसँगै सोधपुछ गर्ने निर्णय गरेको थियो । ‘यस्ता महत्वपूर्ण चिजबिजहरूको सुरक्षा गर्नुपर्नेमा हामीलाई त कहाँ छ भन्नेबारेमा पनि थाहा छैन,’ समिति सभापति रामनारायण बिडारीले भने, ‘कसैलाई मतलबै छैन ।’

ऐतिहासिक दस्ताबेजहरूको खानी भनिएको राष्ट्रिय अभिलेखालयमा पनि समितिले सुगौली सन्धि र सन् १९५० को सन्धिको सक्कलप्रति (ओरिजिनल कपी) फेला पर्न सकेन । कहीँकतै दस्ताबेजहरू भेटाउन नसकेपछि समितिको ५ साउनको बैठकमा भनियो, ‘राष्ट्रिय महत्वका दस्ताबेजहरूलाई कहाँ कसरी राख्ने भन्नेबारेमा सरकार गम्भीर देखिएन ।’ अहिले समितिले यिनै दस्ताबेजहरूमाथि मन्त्रालयको धारणा लिइरहेको छ ।

मन्त्रालयसँग छलफल गर्ने क्रममा मंगलबार समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बोलाएको थियो । मन्त्रीसँग समिति सदस्यहरूले पुराना दस्ताबेज र नयाँ दस्ताबेजहरूको सुरक्षा केरकसरी भइरहेको छ भन्नेबारे पनि जिज्ञासा राखे । नयाँरपुराना सबै ‘डकुमेन्ट’हरू मन्त्रालयले सुरक्षाका लागि राष्ट्रिय अभिलेखालय पु(याएको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका थिए ।

राष्ट्रिय अभिलेखालय ऐनले २५ वर्ष वा सोभन्दा पुराना कागजपत्रहरू सबै कार्यालयले राष्ट्रिय अभिलेखालयमा पुर्याउनुपर्ने बताएको छ । राष्ट्रिय अभिलेखालय ऐनको दफा ६ मा कार्यालयले राष्ट्रिय अभिलेखालयमा कागजात पठाउने व्यवस्था गरेको छ । हस्तलिखित ग्रन्थ, किताब, प्रतिवेदन, आर्थिक विवरण, सन्धि सम्झौता, पत्र–पत्रिका, चिठी–पत्र, लिखत, चित्र, तस्बिर, नक्सा, योजना, चार्ट, फाइल, मिसिल, रजिस्ट्रर वा कुनै प्रकाशन राष्ट्रिय अभिलेखालयमा पुर्याउनुपर्ने ऐनमा उल्लेख छ । त्यस्तै, फिल्म, माइक्रो फिल्म, टेप, चलचित्र, कम्प्युटर, डिस्क, कम्प्युटर क्यासेट पनि अभिलेखालयमा पुर्याउनुपर्छ ।

ऐनअनुसार पनि सुगौली सन्धि वा अन्य सन्धिहरूको ‘ओरिजिनल कपी’ राष्ट्रिय अभिलेखालयमा हुनुपर्ने हो । तर, संसदीय समितिले त्यहाँ पनि दस्ताबेज नभएको प्रतिवेदन तयार पारेको थियो । मन्त्रालयले त दस्ताबेज राखेको होला भन्ने समितिको अनुमानले सही बाटो समातेन । दस्ताबेज कहाँ छन् भन्नेबारेमा मन्त्रीहरूबाट ठोस उत्तर आएन । बरु, थप अध्ययन/अनुसन्धान गर्नुपर्ने जवाफ दिएर मन्त्रीहरू समितिबाट बाहिरिए । नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मार्च ४ मा गरिएको सुगौली सन्धिको सक्कलप्रति कहाँ छ भन्नेबारे सरकार नै बेखबर देखिएको छ । सन्धिको सक्कलप्रति कहाँरकसलेरकसरी सुरक्षित राखेको छ भन्नेबारे सम्बन्धित अधिकारीले अनभिज्ञता देखाएका हुन् । सुगौली सन्धि मात्र हैन, १९५० को सन्धिको सक्कलप्रतिबारे पनि सरकारलाई पत्तो छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’मा ती दस्ताबेज कहाँ छन् भन्नेबारेमा प्रस्ट जवाफ दिएनन् । उनले भने, ‘सुगौली सन्धि, १९५० को सन्धिका बारेमा प्रश्नहरू यथावत् नै छन् ।

ब्रिटिस लाइब्रेरी र कलकत्ता लाइब्रेरीमा पनि खोजीकार्य भइरहेको छ । केही महत्वपूर्ण दस्ताबेजहरूचाहिँ कानुन मन्त्रालयमा पनि छन् । यहाँ भएका र बाहिर भएका डकुमेन्टहरूलाई अध्ययन गरेपछि मात्र हामीसँग के–के दस्ताबेज रहेछन् भन्नेबारे थाहा हुन्छ ।’विगतमा ‘डकुमेन्टेसन’ गर्ने राम्रो व्यवस्था नहुँदा पनि महत्वपूर्ण दस्ताबेजहरूको सुरक्षा हुन नसकेको उनले स्विकारे । केही दस्ताबेजहरू दरबारमै छुटे वा नष्ट भए वा राजाले लगे कि भन्नेबारेमा पनि उनले शंका व्यक्त गरे ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल त महत्वपूर्ण दस्ताबेजहरू कहाँ छन् भन्नेबारे बोल्दै बोलेनन् । बरु यसबारेमा आफूसँग तयारी नरहेको बताए । ठूला महत्वका दस्ताबेजहरू के–के हुन् भन्नेबारेमै आफू ‘कन्फ्युजन’मा परेको उनको भनाइ थियो । ‘समितिको बैठकमा म त गफ सुन्न मात्र आएको हुँ । सन्धि सम्झौताहरू कतारकता परेका छन् भन्नेबारेमा बोल्नका लागि तयारी छैन,’ उनले भने ।

नेपालका महत्वपूर्ण दस्ताबेजहरू कहाँ छन् भन्नेबारेमा संसद्को ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ले केही समयदेखि खोजी गरिरहेको थियो । त्यसका लागि समितिका सदस्यहरू रामशाहपथस्थित राष्ट्रिय अभिलेखालय, पुरातत्व विभाग, राष्ट्रिय संग्रहालय, त्रिवि केन्द्रीय पुस्तकालय, सर्वोच्च अदालत पुस्तकालय, केशर पुस्तकालय, संघीय संसद्को पुस्तकालय, सोसल साइन्स बहा, नारायणहिटी दरबार संग्रहालयसम्म पुगेको थियो । राष्ट्रका महत्वपूर्ण दस्ताबेजहरू संग्रहित हुने सम्भावित ठाउँहरूमा पुग्दासमेत समितिले खोजेको कुरा हात पार्न सकेन ।

यसअघि पनि सुगौली सन्धि वा अन्य विभिन्न सन्धिहरूको सक्कली कपी कहाँ छ भन्नेबारेमा प्रश्न नउठेको होइन । ०६५ फागुन ९ गते तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले महेन्द्रनगरमा भएको एक कार्यक्रममा सुस्ताको नक्सा नेपाल सरकारसँग नभएको बताएका थिए । सुस्तामा भारतले नेपालको सीमा मिचेको समाचार आउन थालेपछि यादवले नेपालको भूमि निर्धारण गरिएको सक्कल नक्सा नेपालसँग नभएकाले सुस्ताको समस्या समाधान गर्न गाह्रो भइरहेको बताएका थिए ।

महत्वपूर्ण अभिलेख र दस्ताबेजहरूलाई जनताको पहुँचमा ल्याउनुपर्नेमा सरकारसँगै सुरक्षित नहुनुले सरकारको गम्भीरतामाथि प्रश्न उठ्ने समिति सदस्य बिडारीले बताए । महत्वपूर्ण ठाउँहरूमा पुग्दासमेत ऐतिहासिक सन्धिका सक्कली कपी नै नभेटिनुले ‘कतै त्यस्ता दस्ताबेज नै छैनन् कि’ भन्ने शंका उब्जाएको छ । योगी नरहरिनाथले आफ्नो पुस्तक ‘सन्धि संग्रह’मा सुगौली सन्धिको सक्कलीप्रतिको प्रतिलिपि छपाएको बताउँछन्, इतिहासविद् रमेश ढुंगेल । उनी भन्छन्, ‘योगी नरहरिनाथले आफ्नो पुस्तकमा सुगौली सन्धिको पहिलो र अन्तिम पेज छपाउनुभएको छ, ओरिजिनल नै । दस्तखत नै छ त्यहाँ । अब अहिले हरायो भन्न कहाँ पाइन्छ ?’

सुगौली सन्धिको ओरिजिनल कपी तीन ठाउँमा हुन सक्ने उनको अनुमान छ । बाबुराम आचार्य, योगी नरहरिनाथ र राजदरबारको लाल ढड्डामा कतै रहेको हुन सक्ने बताउँछन्, उनी । ‘नेपालको सुगौली सन्धिको कपी बेलायतमा छैन । मैले त्यहाँ रहँदा भेटिनँ । एकप्रति नेपालमै हुनुपर्छ । अब कहाँ धमिराले खाएर बसेको छ, त्यो खोज्नुपर्छ,’ उनी थप्छन् ।

पुरानो नक्सा नहुँदा अहिले बेलायतले बनाइदिएको नक्साका आधारमा आफूहरूले नेपालको नक्सा रेखांकनको काम अघि बढाइरहेको मन्त्री ज्ञवालीले समितिलाई जानकारी दिए । ०१४ देखि आफूहरू नेपालको नक्साको नापीमा लागिरहेको उनको भनाइ थियो । ‘वैज्ञानिक रेखांकन अहिले पनि जारी छ । सीमारेखा छुट्याउने काम अघि बढिरहेको छ,’ उनले भने ।

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्–खोजीकार्य भइरहेको छ, राजाले पो लगे कि ?

सुगौली सन्धि, १९५० को सन्धिका बारेमा प्रश्नहरू यथावत् नै छन् । ब्रिटिस लाइब्रेरी र कलकत्ता लाइब्रेरीमा पनि त्यसको खोजीकार्य भइरहेको छ । केही महत्वपूर्ण दस्ताबेजहरूचाहिँ कानुन मन्त्रालयमा पनि छन् ।

नेपालभित्र भएका र बाहिर भएका दस्ताबेजहरूलाई अध्ययन गरेपछि मात्र हामीसँग के–के दस्ताबेज सुरक्षित रहेछन् भन्नेबारे थाहा हुन्छ ।

विगतमा ‘डकुमेन्टेसन’ गर्ने राम्रो व्यवस्था नहुँदा पनि महत्वपूर्ण दस्ताबेजहरूको सुरक्षा हुन सकेन । केही दस्ताबेजहरू दरबारमै छुटे वा नष्ट भए वा राजाले लगे कि भन्नेबारेमा पनि खोजी हुनुपर्नेछ ।

नरहरिनाथको संकलनमा थियो, कतै धमिराले खाइरहेको होला

रमेश ढुंगेल
इतिहासकार

योगी नरहरिनाथले आफ्नो पुस्तक ‘सन्धि संग्रह’मा सुगौली सन्धिको सक्कलप्रतिको प्रतिलिपि छपाउनुभएको छ ।

उहाँले आफ्नो पुस्तकमा नेपाल र अंग्रेजबीचको त्यस सन्धिको पहिलो र अन्तिम पृष्ठको सक्कल नै राख्नुभएको छ । त्यसमा दुवैतर्फको दस्तखत नै छ ।

अहिले सरकारले हरायो वा कता पर्यो भन्न कहाँ पाइन्छ ? त्यो सरकारी अभिलेखबाटै नरहरिनाथले लगेको हुनुपर्छ । सुगौली सन्धिको मूलप्रति बाबुराम आचार्य, योगी नरहरिनाथ र राजदरबारको लाल ढड्डामध्ये एक ठाउँमा हुन सक्छ ।

तर, सुगौली सन्धिको सक्कल बेलायतमा चाहिँ छैन । मैले त्यहाँ रहेर अध्ययन गर्दा त्यो भेटिनँ । एकप्रति त नेपालमै हुनुपर्छ । कुन ठाउँमा धमिराले खाएर बसेको छ, त्यो सरकारले नै खोज्नुपर्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।