
काठमाडौं । जम्मु–कश्मीरको विषयमा भारतले लिएको पछिल्लो निर्णय भारतको आन्तरिक मामिला बताइए पनि यसबारेमा अन्तर्राष्ट्रियजगतले चासो लिएको छ । भारतीय कदमको पक्ष र विपक्षमा धारणा सार्वजनिक हुन थालेका छन् ।
भारतले जम्मु–कश्मिरबारे प्रधानमन्त्री नरेन्द्र मोदीले चालेको कदम एकपक्षीय बताइए पनि भारतीय नागरिक र सत्ता पक्षीय दलले खुलेर स्वागत गरेका छन् ।
दिल्लीको आम आद्मी पार्टी र केही साना दल सरकारको समर्थनमा रहे पनि प्रमुख प्रतिपक्षी दल कँग्रेस आई विरोधमा उत्रिएको छ ।
कंग्रेसलाई साथ दिँदै आर जेडी, डिएमके र कस्मिरका क्षेत्रीय पार्टी नेसनल कन्फरेन्स, पीडिपीसहित बिहारका मुख्यमन्त्री नितिशकुमारको दल जेडियु विपक्षमा उत्रिएका छन् ।
जम्बु–कश्मीरको भारत अधिनस्थ लद्धाखबारे मंगलबार भारतीय लोकसभामा महत्वपूर्ण छलफल भएको बताउँदै मोदीले आफूले लिएको कदमको प्रतिरक्षा गर्नुभएको छ ।
लद्धाखबारे सो क्षेत्रका सांसद छिरिङ नामग्यालले महत्वपूर्ण विषयमा सम्बोधन गर्नुभएको बताउँदै उहाँले नामग्यालको सम्बोधन सुन्नै पर्ने उल्लेख गर्दै ट्वीट गर्नुभएको छ ।
‘उहाँले ९नामग्याल०ले विस्तृत रुपमा लद्धाखका हाम्रा दिदीबहिनी र दाजुभाइको अभिलाषा प्रष्ट्याउनुभएको छ, सो सम्बोधन सुन्नैपर्छ’–मोदीले ट्वीटमा भन्नुभएको छ ।
भारतीय प्रतिपक्षी दल कँग्रेस आईका नेता राहुल गान्धीले भने सरकारको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको बताउनुभएको छ । जम्बु–कश्मीरका मुख्य नेताहरूलाई गोप्य ठाउँमा बन्दी बनाइनु भारतीय सरकारको असंवैधानिक कदम भएको उल्लेख गर्दै उहाँले हतार र मुख्याईँपूर्ण निर्णयले भविष्यमा आतंकवाद मौलाउने विचार व्यक्त गर्नुभएको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।












