२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँवासी पहिरोको चपेटामा, गाउँपालिका अध्यक्ष विदेशमा



अ+ अ-

दोलखा । पहिरोका कारण जिल्लाको गौरीशंकर गाउँपालिकाका सर्वसाधारण बिचल्लीमा परिरहेका बेला गाउँपालिकाका अध्यक्ष भने पारिवारिक भ्रमण भन्दै विदेशमा रमाइरहेका छन्। चारवटा वडाका दर्जनभन्दा बढी बस्ती पहिरोको चपेटामा परेर डेढ सय परिवार विस्थापित र दुईजना बेपत्ता हुँदा समेत गाउँपालिकाले खोज, राहत तथा उद्धारमा प्रभावकारी कदम चाल्न नसकिरहेको आवाज उठिरहेको छ। यस्तो अवस्थामा पनि गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्का भ्रमण स्थगित गरेर विदेशबाट नफर्किएको भन्दै पहिरोप्रभावितहरू असन्तुष्ट हुनुका साथै आक्रोशित समेत बन्दै गएका छन्।

गौरीशंकर–१ र २ मा पर्ने जुँगु गाउँमा गत शुक्रबार मध्यरातमा आएको पहिरोमा परी हराइरहेका दुईजना अझै भेटिएका छैनन्। ७७ घर विस्थापित छन्। स्थानीयका अनुसार गाउँमा खानेपानी, सडक, विद्युत्, सिँचाइ, कुलोजस्ता पूर्वाधार पहिरोले तहसनहस पारिदिएको छ। पहिरोमा परेर मरेका पशुचौपायाको दुर्गन्ध फैलिएको छ। पीडितहरूलाई आवास तथा खानाको उचित व्यवस्थापन हुन सकेको छैन। यस्तै गौरीशंकर–६ को चंखु र ७ को मार्बुमा पहिरोको जोखिम बढ्दै गएपछि ३५ घर विस्थापित भएका छन्। पहिरोका कारण सडक बन्द हुँदा वडा ६, ७ र ८ नाकाबन्दीमा परेजस्तै भएका छन्। तर सर्वाधिकार सम्पन्न स्थानीय सरकारले भने पहिरोप्रभावित क्षेत्रमा चार दिनदेखि उपस्थिति नै नजनाएको बताइएको छ। सबैभन्दा बढी प्रभावित जुँगु, चंखु, मार्बु र खारेका पहिरोपीडितहरूको खोज, राहत, उद्धार तथा व्यवस्थापनमा प्रभावकारी तवरले काम गर्नुपर्नेमा उपस्थिति नजनाएकोप्रति जिल्लास्तरमै असन्तोष प्रकट हुन थालेको छ।

पारिवारिक भ्रमणका नाममा अध्यक्ष खड्का अस्ट्रेलियामा छन्। निर्धारित समयतालिकाअनुसार उनी भदौ तेस्रो साता मात्र स्वदेश फर्कनेछन्। उनले उपाध्यक्ष उर्मिला थामीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्। खड्का नहुँदा गाउँपालिकास्तरीय विपत् व्यवस्थापन समिति र कार्यपालिकाको बैठक बस्न सकेकै छैन। बैठक नबस्दा खोज, राहत तथा पीडितहरूको व्यवस्थापनको काम चुस्तदुरुस्त हुन सकेको छैन। प्रभावित क्षेत्रहरुमा गाउँपालिकाको भूमिका कमजोर देखिएको भन्दै चौतर्फी आवाज उठ्न थालेको छ।

जुँगुमा गाउँपालिकाबाट उद्धार र राहत साथै पीडितका लागी कार्यक्रम नआएपछि स्थानीयको दबाबमा दुई वडाध्यक्षको संयुक्त दस्तखत चल्नेगरी बैंक खाता खोलेर गाउँमै उद्धार कोष बनाइएको छ। गोरुीशंकर–१ का वडाध्यक्ष झलककुमार कार्की र २ का वडाध्यक्ष वसन्त कार्कीको संयुक्त दस्तखतबाट खाता खोलेर राहत संकलनको काम गरिएको छ। यस्तै गाउँपालिकाले लगत संकलन गर्न नसक्दा जुँगु पहिरोका पीडितहरूको आधिकारिक तथ्यांक चार दिनयता बाहिर आउन सकेको छैन। गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामी तीन दिनदेखी जुँगुमै छिन् तर प्रमुख प्रशासकीय अधिकृत प्रदीप खड्का अहिलेसम्म प्रभावित क्षेत्र पुगेका छैनन्।

प्रमुख प्रशासकीय अधिकृत खड्काले गाउँपालिकाले आपत्कालीन सहायताका कामहरू गरिरहेको दाबी गरेका छन्। ‘भौगोलिक रूपमा विकट हाम्रो गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र पुग्ने बाटो बन्द छ,’ उनले भने, ‘सदरमुकाम हुँदै चारवटा स्थानीय तह घुमेर जानुपरेका कारण ढिलाइ भयो होला। तर राहत तथा उद्धारको काम रोकिएको छैन। ’ उनले गाउँपालिकाले प्रयोग गरेको डोजरबाट नै पहिरो क्षेत्रको बाटो खुलाउने र हराएकाहरूको खोजी गर्ने कार्य भइरहेको सुनाए। खड्काले कर्मचारी अभावका कारण कार्यालय छाड्न नसकेको दाबी गरे।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष थामीले आफूले कार्यवाहक पाएको दुई दिनपछि पहिरो गएका कारण गाउँ कार्यपालिका र विपत् व्यवस्थापन समितिको बैठक बस्न नसकेको सुनाइन्। ‘हाम्रो गाउँपालिकाभरि पहिरो गएको छ,’ उनले भनिन्, ‘दौडधुपले गर्दा बैठक बस्न भ्याइएन होला तर आपत्कालीन कामहरू गरिरहेका छौं। ’ सोमबार सदरमुकाम चरिकोटमा जिल्ला समन्वय समितिमा दल तथा जिल्लाका सुरक्षा अधिकारीहरूको बैठकले जुँगु पहिरोका निम्ति सबैखाले संयन्त्र परिचालन गर्ने निर्णय गरेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।