२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परि दुई जना बेपत्ता, उद्धारमा ढिलाइ



अ+ अ-

दोलखा । उमेर जतिसुकै होस् मानिसलाई मृत्युसँग सधैं भय रहन्छ । यस्तै भयमा झन्डै चार घण्टा विताउनुभयो दोलखा गौरीशङ्कर गाउँपालिका–१ जुँगु झगडेकी ८३ वर्षीया जुनकीरी खत्रीले ।

शुक्रबार राति करिब १० बजे अविरल वर्षासँगै दोलखा गौरीशङ्कर गाउँपालिका–१ जुँगु यार्साको भीरबाट झरेको पहिरोले झगडेमा रहेको जुनकीरीको घरको चारैतिर तहसनहस बनायो, उहाँको घरको तल्लो तलामा पनि हिलो माटो र पानी पस्यो । भाग्ने कुनै सम्भावना नरहेको र अरु मानिस उद्दार गर्न आउने सम्भावना पनि नभएकाले जुनकीरी, उहाँको छोरा डम्बरबहादुर र बुहारी विन्दा खत्रीले झन्डै चार घण्टा मृत्युको भयमा विताउनुप¥यो । राति १ बजेतिर पानी कम भएपछि मात्र उहाँहरुको उद्दार हुन सकेको थियो ।

अविरल वर्षासँगै पहिरोले घर नै बगाउन थालेपछि आफू छोरालाई समातेर बसेको जेष्ठ नागरिक जुनकीरी खत्रीले बताउनुभयो । चार घण्टासम्म कतिखेर मरिने हो भन्ने भयमा हिलो र पानीमा डुबेर बस्नुपरेको जुनकीरी बताउनुहुन्छ ।

शुक्रबार राति १० बजेतिर पहिरो खस्न थालेपछि बाहिर निस्कन नसकेको र काठमाडौँमा फोन सम्पर्क गरी आफूहरु पहिरोको बीचमा परेको जानकारी गराएको जुनकीरीको छोरा डम्बरबहादुरले बताउनुभयो । पहिरो आउन्जेल बाहिर निस्कन पनि नसकेको र उद्दार गर्ने अवस्था पनि नरहेकाले आफूहरु चार घण्टासम्म त्रासमा रहेको डम्बरबहादुर बताउनुहुन्छ ।

बाढी र पहिरोका कारण २ जना बेपत्ता भएको र ११ घर पुरिएको स्थानीयको भनाइ छ । पहिरोले ८० भन्दा बढी घरहरु जोखिममा परेको स्थानीय बताउँछन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गौरीशङ्कर गाउँपालिका–२ जुँगुमा पर्ने जुँगुखोलाले स्थानीय १९ वर्षीय निसान खड्का र वडा नम्बर १ का ५६ वर्षीय जगत्बहादुर खत्रीलाई बगाएको हो । उहाँहरु दुवै जना बेपत्ता हुनुहुन्छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयले उहाँहरुको खोजी गरिरहेको भए पनि हालसम्म फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

निसान खड्कालाई जुँगुखोलामा सवारीसाधनमा फसेको यात्रुलाई उद्धार गर्ने क्रममा बगाएको थियो भने जगत्बहादुर खत्रीलाई पहिरोबाट बच्न भाग्ने क्रममा खोलाले बगाएको स्थानीयको भनाइ छ ।

अविरल वर्षापछि जुँगु यार्साको भीरबाट बगेको पहिरोले झगेडेको डम्बरबहादुर खत्री तथा दीपक खत्रीको दुई दुई घर र राजन खत्री, बालकृष्ण खत्री, गौरव खत्री, बलबहादुर खत्री, नवराज खत्री को एक एक घर पुरिएको छ । त्यसै गरी बिरौसीको गंगा खत्रीको एउटा र अर्को एउटा गरी दुईवटा घर पुरिएको स्थानीयले बताए ।

पहिरो खस्दा तीन चारवटा घरका नौ जना घरभित्र नै थुनिएका थिए । उनीहरु सबैको राति एक बजेपछि मात्र उद्दार हुन सकेको थियो । अन्य घरहरु भने भर्खर बनेकाले मानिस बसिनसकेको स्थानीयको भनाइ छ । रातभरि पहिरो आउँदा पनि आफूहरु भाग्यले बाँच्न सकेको स्थानीय चित्रमाया खत्री बताउनुहुन्छ ।

शनिबार पनि बर्षा निरन्तर भइरहेकाले वडा नम्बर १ र २ जुँगुको झगडे, यार्सा, बिरौसीको झण्डै ८०/९० घरका बासिन्दालाई नजिकको नीलकण्ठेश्वर मावि र अन्य सुरक्षित ठाउँमा राख्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

पहिरोबाट विस्थापितलाई बैतेश्वर गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी दोलखालगायतले त्रिपाल, चाउचाउ, बिस्कुट उपलब्ध गराएको छ । पहिरोबाट प्रभावित झगडेमा पूर्वराज्यमन्त्री, नेकपा दोलखाको इन्चार्ज स्थानीय देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, तामाकोसी गाउँपालिकाका प्रमुख एवं नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामा, तारादल गणका गणपति निखिल कुँवर, प्रहरी नायब उपरीक्षक मानबहादुर राई, सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायत, गौरीशङ्कर गाउँपालिकाको उपप्रमुख उर्मिला थामी, बैतेश्वर गाउँपालिकाको उपप्रमुख रवि आचार्य, नेपाल रेडक्रस जिल्ला शाखा दोलखाको सभापति गोकर्ण पोखरेललगायत पुग्नुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।