काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै खाता खोलेको छ ।
लिग अन्तर्गत आजै भएको दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई गोल रहित बराबरीमा रोक्दै जारी लिगमा पहिलो अंक खोल्न सफल भएको हो । अघिल्लो सबै खेलमा नतिजा सुम्पिएको जावलाखेल युथ क्लबले अंकका लागि खेलेको थियो । सो क्रममा विदेशी खेलाडीले खेल अवधिभर धेरै अवसर पाए पनि सदुपयोग गर्न असफल भएका थिए ।
बराबरीपछि बिबिसीको ४ खेलबाट ५ अंक पुगेको छ । समान ५ अंक नै रहेपनि बिबिसी थ्री स्टार, पुलिस र एनआरटीभन्दा पछि रहँदै नवौं स्थानमा छ । लिगमा पहिलो अंक जोडेको जावलाखेलले एपिएफलाई पछि पार्दै १३औं स्थानमा उक्लिएको छ ।
यससँगै सहिद स्माकर ए डिभिजन लिगमा चौथो चरणका खेल पनि सकिएका छन् । चौथो चरणको खेल सकिँदा साविक विजेता मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा उक्लिँदा समान १० अंक जोडेको मनाङ मस्र्याङ्दी फुटबल क्लब तालिकाको दोस्रो स्थानमा रहेको छ ।
चार खेलबाट ८ अंकका साथ त्रिभुवन आर्मी फुटबल क्लब तालिकाको तेस्रो स्थानमा छ । लिगमा पाँचौ चरणका खेलका पुस २ गतेबाट हुने छन् ।












