६ असार २०८३, शनिबार
,
Latest
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदुषित पानीले झाडावान्ताका बिरामी बढे



अ+ अ-

चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात÷आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा अग्रहरीले जानकारी दिनुभयो । यस्ता बिरामी युवा अवस्थाका छन् । निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् ।

दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ । झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उहाँले बताउनुभयो । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ ।

सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउनुहुन्छ । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ । अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् । जसमध्ये सबैभन्दा बढी झाडावान्ताको रहेको उहाँको भनाइ छ । बाहिरको पानी प्रदुषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहने उहाँको भनाइ छ ।

तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । पानीकै कारण जिल्लामा समय–समयमा रोगको महामारी हुने गरेको छ ।

२४सै घण्टा खानेपानी उपलब्ध नहुने हुँदा पाइप खाली हुँदा ढल वा प्रदुषित पानी पस्न सक्ने सम्भावना रहेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख ई नारायणप्रसाद काफ्लेका अनुसार सर्वसाधारणकोमा पठाउने पानीमा क्लोरिन राखेर पठाउने गरिएको छ । स्रोतमा समस्या नभए पनि उपभोक्तासम्म पुग्दा पानी प्रदुषित नहोस् भन्न उच्च सावधानी अपनाइने गरेको उहाँले जानकारी दिनुभयो ।

दुषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन्् र रोगहरू सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सक बताउँछन् ।