
काठमाडौं । मध्यपुरथिमि नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ । जनप्रतिनिधि पार्टीगत आधारमा विभाजित हुँदा विवाद चुलिएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित मेयर मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर अन्जनादेवी मधिकर्मीसहित जनप्रतिनिधिका बीचमा विवाद चर्किएपछि नगरको विकास निर्माण र कार्यसम्पादन नै प्रभावित बनेको छ ।
नगरसभा र कार्यपालिकामा कांग्रेसको स्पष्ट बहुमत छ । अल्पमतमा रहेका मेयर श्रेष्ठले नगरसभा र कार्यपालिकामा छलफल नै नगरी एकलौटी काम गरेको उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको आरोप छ । विवादकै कारण फागुनदेखि नगरकार्यपालिकाको बैठकसमेत बसेको छैन । उपमेयर मधिकर्मीसहित बहुमत सदस्यको माग सम्बोधन गर्न बुधबारका लागि बोलाइएको विशेष नगरसभासमेत विवादित बनेको छ ।
मेयरले एकलौटी गरेको भन्दै उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले २० जेठमा विभिन्न एजेन्डासहितको ज्ञापनपत्र बुझाएर विशेष नगरसभाको माग गरे । बहुमत सदस्यले नगरसभा बोलाउन माग गरेपछि ३० दिनभित्र नगरसभा बोलाउनुपर्ने कानुनी प्रावधान छ । माग भएकोे ३०औँ दिन बुधबारका लागि मेयर श्रेष्ठको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत महेश बरालले नगरसभा बोलाए ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि दिउँसो दुईबजे उपमेयरसहित बहुमत सदस्यले नगरसभा चलाए । सभामा मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत बराल भने उपस्थित भएनन् । बुधबारको नगरसभामा कांग्रेसबाट निर्वाचित ३३ जना र स्वतन्त्रबाट निर्वाचित वडा नं। ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति सहभागी थिए ।
नगरसभाका निर्णय
मेयरले स्थगित गरेपछि उपमेयर मधिकर्मीको अध्यक्षतामा बसेको नगरसभाले एकीकृत सम्पत्ति कर खारेज गरी सम्पत्ति कर मात्रै लागू गर्ने, वार्षिक एक लाख रुपैयाँभन्दा कम रकम बहाल आम्दानी गर्ने र अन्य आय नभएकालाई बहाल कर नलिने, अपांग, विपन्न विद्यार्थी, छात्रवृत्ति, नागरिकता, आर्थिक अवस्था खुलाउने, नाबालक, घटना दर्ता, जाति प्रमाणित र स्वास्थ्य उपचार सिफारिसमा शुल्क नलिने निर्णय गरेको छ ।
बैठकले कमेरेटार जग्गा एकीकरण आयोजनामा मेयरले एकलौटी नियुक्त गरेका आयोजना प्रमुख सत्यसुन्दर श्रेष्ठलाई पदमुक्त गर्ने र कार्यपालिकाबाट निर्णय गरी प्रमुख नियुक्त गर्ने, मेयरले कार्यपालिकामा छलफल नगरी एकलौटी रूपमा स्वीकृत गरेका योजनाको छानबिन गर्नेलगायत निर्णयसमेत गरेको छ ।
उपमेयरको अध्यक्षतामा बसेको नगरसभा अवैधानिक : मेयर श्रेष्ठ
मेयर मदनसुन्दर श्रेष्ठले भने दुई पटकसम्म बैठकको समयतालिका स्थगित गरेर छलफल गर्दासमेत सहमति नभएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए । उनले कानुनी अधिकार प्रयोग गरेरै आफूले नगरसभा स्थगित गरेको र उपमेयरको अध्यक्षतामा बसेको नगरसभा अवैधानिक भएको बताए । मेयर श्रेष्ठको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत बरालले सूचना जारी गरेर प्रदेश ३ सरकारकोे नगरसभा सञ्चालनसम्बन्धी ऐनको दफा–१९ बमोजिम बैठक स्थगित गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












