२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराज्यमन्त्री टकलालाई जन्मकैद



अ+ अ-

काठमाडौं । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टकलालाई मंगलबार जन्मकैदको फैसला गरेको छ । जनकपुर बम विस्फोट मुद्दामा साहलाई गत फागुनमा धनुषा अदालतले नै जन्मकैद हुने फैसला गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिंघानिया हत्याका योजनाकार पूर्वराज्यमन्त्री साह र सुटर मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो । २०६६ फागुन १७ मा होली पर्वको दिन जनकपुर टुडेका प्रकाशनका सञ्चालक सिंघानियालाई जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो । सिंघानिया हत्याका बेला साह भौतिक पूर्वाधार राज्यमन्त्री थिए ।

सिंघानिया हत्या मुद्दाको अन्तिम सुनुवाइ तीन दिनदेखि जारी थियो । जिल्ला न्यायाधिवक्ता शम्भु गौतमले सिंघानिया हत्याका आरोपितलाई दण्ड–सजायको माग गर्दै बहस गरेका थिए । साह र अन्य आरोपीका तर्फबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । आरोपी पक्षका कानुन व्यवसायीले सिंघानिया हत्यामा साहको संलग्नता नरहेको दाबी गरेका थिए ।

सिंघानिया हत्यामा ११ जनालाई आरोपी बनाएर अदालतमा मुद्दा पेस गरिएको थियो । हत्या गर्ने क्रममा सुटर लामासँगै रहेका चन्द्रदीप यादव, योगेन्द्र सहनी र पवन लामालाई अदालतले १० वर्षको कैद सजाय तोकेको छ । यस्तै पूर्वराज्यमन्त्री साहका निकट सहयोगी रामविनोद यादवलाई ३ वर्षको कैद सजाय सुनाइएको छ ।

सिंघानिया हत्याका तीन आरोपी अनिश राइन, ओमप्रकाश यादव र रामकरण यादवले भने अदालतबाट सफाइ पाएका छन् । हत्याको जिम्मेवारी लिने तत्कालीन सशस्त्र समूहका नाइके मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ । हत्यापछि फरार दीपेन्द्र कुसियतको हकमा मुद्दालाई मुल्तबी राखिएको छ ।

जनकपुर टुडेमा आफ्नोविरुद्धमा लगातार समाचार आएको झोंकमा पूर्वराज्यमन्त्री साहले सिंघानियाको हत्या योजना बुनेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सिंघानिया हत्यापछि फरार चन्द्रदीप पक्राउ परेपछि हत्यामा संलग्नता खुलेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा जनकपुर क्षेत्रबाट सद्भावना पार्टीबाट निर्वाचित साह सभासद रहेकै बेला सिंघानियाको हत्या आरोपमा पक्राउ परेका थिए ।

होलीको उमंगमा जनकपुरधाम व्यस्त रहेका बेला रामा होटलको कोठामा सुटर राखेर सिंघानियाको ‘फलो’ गरिएको थियो । जनकपुरको शिवचोकमा सिंघानियालाई रंग–अबिर दल्दै गोली प्रहार गरिएको थियो । अदालतको फैसलापछि सिंघानियाका छोरा राहुलले न्याय पाएकोमा खुसी व्यक्त गरे । ‘अदालतको फैसलापछि न्याय पाएको छु । अपराधीलाई सजाय भएकोमा परिवार आशावादी बनेको छ,’ उनले भने, ‘तर, अझै केही शंका गरिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।’, समाचार कान्तीपुर दैनिकमा प्रकाशित छ ।