२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ ।

मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेका हुन् ।

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरिसकेको छ । छानबिनका क्रममा कर्माचार्यले डेढ लाख लिएर उत्कृष्ट नम्बर ल्याउने गरी कोइरालाको नम्बर थपिदिएका थिए । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीका अनुसार उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको छ ।

पेसाले अधिवक्ता कोइरालाले आफूलाई राष्ट्रपतिको हातबाट गोल्ड मेडल लिने रहर भएकाले पैसा तिरेर किनेको बताएका छन् । न्यायाधीश बन्न सहयोग पुग्ने भएकाले समेत उनी ‘गोल्ड मेडलिस्ट’ बनेको खुलेको छ । कोइरालाले यसअघि चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका थिए । ती विषयमा पनि आर्थिक चलखेलकै आधारमा परीक्षा उत्तीर्ण गरेको हुन सक्ने आशंका गरिएको छ ।

पाटन क्याम्पसका विद्यार्थी कोइराला नतिजा आउँदा फेल भएका थिए । तर, पछि उनी नै गोल्ड मेडलिस्ट बनेको खबर पाएपछि क्याम्पसका कर्मचारी चकित भएर अख्तियारमा उजुरी गरेका थिए । सोही आधारमा अख्तियारले छानबिन गर्दा त्रिविमा लामो समयदेखि गोल्ड मेडल किनबेच हुने गरेको खुलेको हो ।

अधिवक्ता कोइरालाले बिचौलियाका रूपमा समेत काम गरेको अनुसन्धानमा देखिएको छ । उनले यसअघि उच्च माध्यमिक शिक्षा परिषद् तथा नेपाल विद्युत् प्राधिकरणमा समेत कानुनी परामर्शदाताका रूपमा काम गरेका थिए । अख्तियारले पनिकाका अन्य कर्मचारीमाथि समेत सोधपुछ गरिरहेको छ ।

बानेश्वर क्याम्पसका कर्मचारीसमेत पक्राउ
अनुसन्धानका क्रममा अख्तियारले बानेश्वर क्याम्पसमा कार्यरत कर्मचारी केदार भट्टराईलाई पनि पक्राउ गरेको छ । उनले पनि पैसा तिरेर नम्बर सच्याई प्रथम श्रेणीमा एमए स्नातकोत्तर ९अर्थशास्त्र०मा उत्तीर्ण गरेका थिए । कोइरालाले नै उनलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउन भूमिका खेलेको खुलेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा पनि छानबिन
त्रिविमा छानबिन थालेपछि अख्तियारमा पूर्वाञ्चल विश्वविद्यालयको समेत उजुरी परेको छ । पूर्वाञ्चल विश्वविद्यालयमा समेत लामो समयदेखि आर्थिक चलखेलका नाममा नम्बर सच्याउने काम हुँदै आएको उजुरी परेको हो । प्रारम्भिक अनुसन्धानमा पूर्वाञ्चलको नतिजामा समेत चलखेल हुने गरेको संकेत भेटिएको अख्तियार स्रोतले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।