५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु



अ+ अ-

काठमाडौं । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक यहाँ आएका छन् ।

विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको जानकारी दिनुभयो ।

यस्तै सरकारले नवलपरासीको धौवादीमा रहेको फलामखानीको उत्खननको प्रक्रियासमेत अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । उहाँले उपलब्ध साधनस्रोतको उपयोग गरी बजार अनुगमन गरिएको, गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको बताउनुभयो ।

गत जेठ मसान्तसम्म एक हजार ५४५ वटा फर्मको अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री यादवले १४५ फर्मलाई जरिवाना गरिएको जानकारी दिनुभयो । उहाँले एक फर्मको अनुमतिपत्र खारेज गरिएको र छ वटा फर्मलाई कारवाहीका लागि सम्बन्धित निकायलाई पठाइएको र तीन वटालाई मुद्दा चलाइएको उल्लेख गर्नुभयो ।

यस्तै गुणस्तर तथा नापतौल विभागबाट १४५ वटा गुणस्तर चिह्न प्राप्त गरेका फर्म र अन्य १६९ फर्मको अनुमगन गरिएको छ । अनुगमनका क्रममा कूल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिएको र १३ वटाको गुणस्तर चिह्न स्थगन गरिएको मन्त्री यादवले बताउनुभयो । यस्तै उपभोक्ता ठगी गर्ने २१ वटा पेट्रोलपम्पलाई कारवाही गरिएको मन्त्री यादवको भनाइ छ ।

निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयात र बिक्रीका लागि सरकारले सहजीकरण गर्न लागेको र अध्ययन समिति गठन गरिएको जानकारी दिँदै मन्त्री यादवले थप पेट्रोलपम्प खोल्नका लागि सूचना आह्वान गरिएको र यही असार १३ गतेसम्म आवेदनको समयावधि रहेको बताउनुभयो ।

उद्योग मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो भयो भन्ने सन्दर्भमा मन्त्री यादवले व्यवहारतः त्यस्तो नभएको प्रष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा हुनै सक्दैन । विगतमा भोगेका साथीहरुलाई त्यस्तो लागेको होला । तर अहिले एकअर्को मन्त्रालयसँग तालमेल गरेर एकताबद्ध भई काम गरिरहेका छौँ ।”

नेपालमा लगानीको वातावरण बनेको छ

मन्त्री यादवले नेपालमा लगानीको वातावरण बनेको स्पष्ट पार्नुभयो । वैदेशिक तथा आन्तरिक लगानीको प्रवद्र्धनका लागि सरकारले आवश्यक ऐन, नियम तथा कानूनको प्रबन्ध गरेको र सोहीअनुसारको वातावरण बनाएको बताउनुभयो ।

वर्तमान सरकारले लगानी विस्तारका लागि हदैसम्मको प्रयास गरेको र त्यसको प्रतिफल केही समयपछि स्पष्टरूपमा देखिने उहाँको कथन थियो । निर्यातमूलक उद्योगको प्रवद्र्धन गर्न सरकार लागिपरेको जानकारी दिँदै उहाँले औद्योगिक क्रान्तिका लागि सबैको साथ र सहयोगसमेत जरुरी रहेको बताउनुभयो । “आर्थिक समृद्धि सरकारका लागि मात्रै हुँदैन, सबै नेपालीका लागि हुन्छ, सबै राजनीतिक दलका लागि हुन्छ”, मन्त्री यादवले भन्नुभयो । राष्ट्रिय पूँजी प्रवद्र्धन गरी साना तथा घरेलु उद्योगलाई समेत थप प्रवद्र्धन गर्न सरकारले योजनाबद्ध प्रयास थालेको उहाँको कथन छ ।