२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पहिला को बोल्ने’ विवादले संसदमा हंगामा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवामध्ये पहिला को बोल्ने भन्ने विवादले मंगलबार प्रतिनिधिसभा बैठकमा हंगामा भयो । सभामुख कृष्णबहादुर महराले समय दिएपछि रोस्ट्रम पुगेका प्रधानमन्त्रीले कांग्रेसको विरोधका कारण बोल्न पाएनन् । पोडियममै केहीबेर टोलाएर फर्किन बाध्य भए ।

संसद्को कार्यसूचीअनुसार सभामुख कृष्णबहादुर महराले बैठकको सुरुमा प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए । प्रधानमन्त्रीले गुठी विधेयकलगायत समसामयिक विषयमा सम्बोधन गर्न समय मागेपछि सचिवालयले पहिलो सूचीमा राखेको थियो । तर, अन्तर्राष्ट्रिय लोकतान्त्रिक मान्यताअनुसार पहिले प्रमुख विपक्षी दलको नेता बोल्ने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग कांग्रेसले गरेपछि हंगामा भयो । संसद् बैठक नै स्थगित भयो ।

संसद्को मंगलबारको कार्यसूचीको सुरुवातमै प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने तय थियो । तर, बैठक सुरु हुनुअघि कांग्रेसले आफ्नो दलका नेता शेरबहादुर देउवाले बोल्न चाहेकाले पहिले बोल्न दिन सभामुखलाई दबाब दिएको थियो । सत्तापक्ष र प्रतिपक्षसँग पहिलो चरणमा भएको छलफलमा सभामुखले देउवालाई पहिले बोल्न दिने वचन दिएको कांग्रेस सचेतक पुष्पा भुसालको दाबी छ । ‘कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण र म तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सचेतक शान्ता चौधरीले छलफल गर्दा सभामुखले देउवालाई पहिले बोल्न दिने भन्नुभएको हो,’ भुसालले भनिन्, ‘सभामुखले दुईवटा बैठक राखेर सुरुमा देउवालाई बोल्न दिने र १० मिनेट स्थगित गरेर दोस्रो बैठकमा प्रधानमन्त्रीलाई समय मिलाउने वचन दिनुभएको थियो ।’

तर, केहीबेरपछि दोस्रो चरणको छलफलमा सभामुखले फेरि पहिले प्रधानमन्त्रीले नै बोल्ने जनाएपछि कुरा बिग्रिएको भुसालको दाबी छ । ‘यो छलफलमा सत्तारुढ दलका प्रमुख सचेतक तथा सचेतकले समेत प्रधानमन्त्रीले नै सुरुवातमा बोल्ने अडान राखे,’ उनले भनिन् । प्रधानमन्त्रीले समेत एक घन्टाजति संसद् भवनको आफ्नो कार्यकक्षमा बसेर सत्तापक्षका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेको स्रोतले जनायो । त्यतिवेला सभामुख भने विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग पटक–पटक छलफलमा थिए । सहमति खोज्ने सभामुखको प्रयास असफल भएको थियो । सत्तापक्ष र प्रतिपक्षको अडानबीच सभामुखले करिब १२ बजे बैठक सुरु गरेका थिए ।

सभामुख महरा बैठक प्रारम्भ गर्नासाथ कार्यसूचीको एक नम्बरमा रहेको प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिकामा प्रवेश गरे । तर, त्यसअघिकै छलफलमा समेत आफ्ना संसदीय दलको नेताले पहिले बोल्न पाउनुपर्ने कांग्रेसको अडान त्यहाँ पनि दोहोरियो । सभामुखले बैठकको कारबाही प्रारम्भ गरेको घोषण गरेलगत्तै कांग्रेस सांसदले उठेर विरोध गरे ।

सभामुख महराले कांग्रेस उठ्नुको कारण नै नसोधी प्रधानमन्त्रीले बोल्न समय मागेकाले उहाँलाई समय दिने र प्रधानमन्त्रीको कुरा सुनिदिन आग्रह गरे । प्रधानमन्त्री बोल्नलाई रोस्ट्रममा पुगेपछि कांग्रेस सांसद रोस्ट्रमअघि आए । सभामुख महराले प्रधानमन्त्रीको कुरा सुन्न र त्यसपछि समय दिने बताए पनि कांग्रेस सांसद नाराबाजीमा उत्रिए । ‘संसदीय मर्यादा कायम गर’, ‘प्रतिपक्षले संसद्मा बोल्न पाउनैपर्छ’ लगायत नारा कांग्रेसले ६ मिनेट लगाएपछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित भएको सभामुखले घोषणा गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । ।