
काठमाडौं । भूकम्पबाट प्रभावित जिल्लामा विभिन्न नौ देशले यो वर्ष अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत डेढ अर्ब खर्च गर्ने भएको छ । अमेरिकासहित युरोपियन मुलुकले सो रकम भूकम्पपछिका आवास पुनर्निर्माण, विद्यालय, महिला तथा बालबालिकाका लागि खर्च गर्ने भएका हुन् ।
जापानले मात्रै दुई आईएनजीओेमार्फत यस वर्ष ४ करोड ६८ लाख ६० हजार रुपैयाँ खर्च गर्न भएको छ । जापानले भूकम्प प्र्रभावित सिन्धुपाल्चोकमा भूकम्प विपद्बाट बाँचेकाहरूको गरिबी अवस्था सुधार कार्यक्रमका लागि २ करोड ११ लाख ३५ हजार रुपैयाँ खर्च गर्ने भएको छ । त्यस्तै पिस वाइन्ट आईएनजीओेमार्फत भूकम्प पुनर्निर्माण र पुनःउत्थान परियोजनाका लगि २ करोड ५७ लाख २५ हजार रुपैयाँ खर्च गरिने भएको छ ।
सरकारले वैदेशिक सहायतालाई बजेट प्रणालीमा ल्याउने नीति लिए पनि ठूलो रकम बजेटबाहिरबाट खर्च हुन लागेको हो । आगामी वर्ष बजेटबाहिरबाट परिचालन हुने रकममध्ये आईएनजीओेहरूले गर्ने खर्चको अंश ५५.५४ प्रतिशत छ ।
अमेरिकाले भूकम्प प्रभावितका लागि सबैभन्दा धेरै १ अर्ब १३ करोड ५४ लाख ९४ हजार रुपैयाँ खर्चन लागेको छ । अमेरिकाले भूकम्प प्रभावित समुदायमा जोखिम व्यवस्थापनका लागि काभ्रे र धादिङका लागि २ करोड १८ लाख १ हजार रुपैयाँ खर्च गर्ने भएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।












