
काठमाडौं । भारतीय नेसनल काँग्रेसले आफ्नो संसदीय दलको नेत्रीको रुपमा सोनिया गान्धीलाई चुनेको छ। शनिबार बसेको बैठकले सोनियालाई संसदीय नेत्रीको रुपमा चयन गरेको हो।
त्यस क्रममा काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीविरुद्ध कडा प्रतिक्रिया जनाए।
उनले आफूहरु ५२ सांसद भारतीय जनता पार्टीको लागि काफी भएको बताए। हालै सम्पन्न लोकसभा निर्वाचनमा काँग्रेस ५२ सिटमा सीमित भएको थियो।
भाजपाले भने ३ सय ३ सिटमा जित हात पारेको थियो। भाजपाले बहुमत प्राप्तगर्दा गठबन्धसँग दुई तिहाइ मत पाएको थियो।
काँग्रेसले भने विपक्षी दलको हैसियत पनि पाएन। ५५ सिट ल्याएको भए काँगे्रसले विपक्षीको हैसियत प्राप्त गर्ने थियो।
चुनावपछि भाजपाका नेताहरुले ५२ सिटमा खुम्चिएकोभन्दै काँग्रेसको आलोचना गरेको थियो। त्यसको प्रतिक्रिया स्वरुप राहुल गान्धीले पहिलो अभिव्यक्ति दिएका हुन्।
सो क्रममा उनले आफ्नो पार्टीलाई भोट गर्ने सबै मतदातालाई धन्यवाद दिएका थिए।












