
महेन्द्रनगर । १६ वर्षमा निर्माण सक्नेगरी सम्झैता भएपनि महाकाली सिँचाइ आयोजनाको १५२ किमि नहर १० वर्षमा १३ किमि मात्रै निर्माण भएको छ ।
समय लम्बीएसँगै आयोजनाको लागत १५ बाट बढेर ३५ अर्ब पुगेको छ । सिधै भन्ने हो भने सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो ।
कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ । १६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६४ बाट नहर खन्न सुरु गरिएको थियो । तर, चैत ०७४ सम्ममा १२.७० किमि मात्र नहर तयार भएको छ । यही गतिमा काम भइरहने हो भने एक सय ५२ किलोमिटर नहर बनाउन एक सय २० वर्ष लाग्ने आजको नयाँपत्रिका दैनिकमा खबर प्रकाशित छ ।












