काठमाडौ । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै शतर्क रहन विज्ञहरुले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन् । पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारु रुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरुले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताउनु भयो ।
उहाँले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरु आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने बताउनु भयो । मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उहाँले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गर्नुभयो । वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उहाँले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिती आउनसक्ने तर्फ सरोकारवालाहरुलाई सचेत गराउनु भयो ।
डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसधानहरु बन्द गर्ने लगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताउनु भयो । डा. उप्रेतीले राष्ट्रिय आपत्कालीन केन्द्रले आउँदै गरेको जोखिमलाई मध्यनजर गरी त्यसबारेमा आम नागरिकहरुलाई सचेत गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले वायुप्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउने चेतावनी समेत दिनुभयो । वायुप्रदूषणजन्य विपद्बाट बच्न बहुप्रकोपीय उपाय अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
जलवायु विज्ञ डा.उप्रेतीले भन्नुभयो, ‘भारतमा प्रत्येक वर्ष ४ वटा तुफान आउने गर्छ, भारतमा आएको तुफानले नेपालमा असर जहिल्यै पनि परिरहेको अवस्था हुन्छ, पश्चिमी वायुको प्रकोप नेपालमा जहिल्यै देखिन्छ, त्यसको अर्थ के हो भने मरुभूमिबाट आउने हावा भएको हुनाले यसमा पानीको मात्रा कम हुन्छ, धुलोको मात्रा बढी हुन्छ, यो उच्च हिमाली क्षेत्रमा धेरै असरदार साबित हुन्छ, काठमाडौं जस्तो उपत्यकामा हावाले ठेल्न सक्दैन, जसकारण असर धेरै समयसम्म रहिरहन्छ । यसले मानिसको स्वास्थ्यमा धेरै असर गर्दछ । वायुप्रदूषण बढेमा एक नम्बरमा के गर्ने, दुई नम्बरमा के गर्ने भन्ने सोच्नुपर्छ ।
विद्यालयहरु बन्द गर्नुपर्ने हुनसक्छ, चलिरहेका उदोगधन्दाहरु आलोपालोमा सञ्चालन गर्नुपर्ने हुनसक्छ, सडकमा चल्ने, एकदमै प्रदूषण गर्ने त्यसलाई पनि हटाउनु पर्ने हुनसक्छ । धेरै नै प्रदूषण भयो भने जस्तो भारतले हार्ड मेजर अपनाएको छ, त्यस्तोमा पनि जानुपर्ने हुनसक्छ ।’
यता राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मुल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताउनु भयो । संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफै गर्न सक्ने भएकोले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगत रुपमा बलियो बनाउन लाग्ने बताउनु भयो । उहाँले प्रवक्ता भट्टराईले स्थानीय विपद् व्यवस्थापन समितिले मागेका कुराहरु प्राधिकरणले पूरा गर्ने बताउनु भयो । उहाँले स्थानीय तहले मागेअनुसारको राहत दिन पनि प्राधिकरण तयार रहेको बताउनु भयो ।
प्रवक्ता भट्टराईले भन्नुभयो, ‘शीतलहरको होस् वा मनसुनजन्य कुराहरुको होस्, कार्यान्वयन गर्ने मुल जिम्मेवारी, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिमै छ । स्थानीय विपद् व्यवस्थापन समिति वा स्थानीय तहलाई त संविधानले पनि विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारणले गर्दा मुलतः स्थानीय विपद् व्यवस्थापन समितिलाई दरिलो बनाउने कुरामा नै हाम्रो ध्यान आकृष्ट छ । हामी त्यसैम बढी सजग छौँ । उहाँहरुलाई दरिलो बनाउनु पर्छ भन्ने कुरामा हामी लागेका छौँ । उहाँहरुले नै यो कामलाई थप अघि बढाउनु हुन्छ । उहाँहरुले मागेको आवश्यक्ता, चाहिएको प्राविधिक सहयोग दिन हामी अहिले पनि तयार छौँ । केन्द्रले सिधै स्थानीय तह, जिल्लासँग समन्वय नगर्ने भन्ने कुरा होइन । हाम्रो विभिन्न ठाउँमा गोदाम घरहरु पनि छन् । यसरी हेर्दा हामी त्यति धेरै राहत दिन नसक्ने अवस्थामा छैनौँ । आवश्यक्ता परे हरेक किसिमका कदममा राहत उपलब्ध गराउन सक्छाँै ।’
प्रवक्ता भट्टराईले हालसम्म प्राधिकरणमा आफैँ पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौति रहेको बताउनु भयो । उहाँले मौसम विज्ञान विभाग (डीएचएम) बीचको सहकार्यमा आएका सूचनाहरुलाई गम्भीरताका साथ लिएर मात्रै जनतासमक्ष पूर्वसूचना दिने गरेको बताउनु भयो ।
प्रवक्ता भट्टराईले भन्नुभयो, ‘आज पनि हामीले प्रारम्भिक सूचना लिने कुरा भनेको मौसम पूर्वानुमान महाशाखा नै हो । हाम्रो राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आफैँ पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न सकेको छैन । हामीले मात्रै संयन्त्र निर्माण गर्नुपर्छ भन्ने पक्षमा पनि हामी छैनौँ । हाम्रो र डीएचएमबीचको सहकार्यमा यी सूचनाहरु जरी हुन्छन् । उहाँहरुले प्रारम्भिक सूचना ल्याउनुहुन्छ र उहाँहरुसँग भेरिफाइ गरेर यसको गाम्भीर्यताको बारेमा थप बुझेपछि हामीले धेरै जनतालाई त्रसित बनाउने कुरा पनि हुँदैन । त्यसकारण उहाँहरुसँगको समन्वयमा कति सूचना जनतामा पठाउने भन्ने छलफल गरेपछि त्यहीअनुसारको सूचना प्रवाह गर्ने प्रणालीको विकास छ ।’
सूचना अधिकारी भट्टराईले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई प्रमाणीकरण गरेर मात्रै जनतालाई सूचना दिने गरिएको बताउनु भयो ।












