
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा कोही दोषी छ भने सरकारले कसैलाई नछाड्ने बताएका छन् ।
बिहीबार सञ्चार मन्त्रलयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले बालुवाटारको सार्वजनिक जग्गा व्यत्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई नछाड्ने बताएका हुन् ।
मन्त्री बास्कोटाले नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । उनले भने,‘उहाँ ठगिनुभो, अपराधी हुनुहुन्न् । उहाँले जारी गरेको विज्ञप्तिको आधारमा उहाँ पीडित बन्नुभएको छ । त्यहाँ सर्वसाधारणले पनि जग्गा किनेका होलान्, यसलाई राजनीतिकरण गर्ने काम भयो ।
मन्त्री बास्कोटाले ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको समितिको सिफारिस अनुसार जग्गा किनबेचमा रोक लगाइसकेको मन्त्री बास्कोटाले बताए । उनले सत्यतथ्य पत्ता लगाएर सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको पाइएमा सरकारले आफ्नो नाममा ल्याउने बताए ।












