
काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हालसालै गरेको चिकित्सकको समायोजनले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई असर पारेको छ ।
संघीय सरकारले खटनपटन गर्दा निश्चित अवधिका लागि भएपनि चिकित्सक सुदूरपश्चिम र कर्णाली प्रदेशमा जानैपर्ने अवस्था थियो । तर सरकारले हालै चिकित्सक समायोजन गर्दा न्यून संख्यामा मेडिकल अधिकृतहरु कर्णाली र सुदूरपश्चिम प्रदेशमा परेका छन् । यसबाट ती दुई प्रदेशका नागरिकले प्राथमिक स्वास्थ्यसेवाबाट वञ्चित हुनुपर्ने अवस्था आएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशको भागमा जम्मा आठजना मेडिकल अधिकृत परेका छन् । तीमध्ये दुईजना प्रदेशअन्तर्गत र ६ जना स्थानीय तहमा समायोजन भएका हुन् । समायोजनपूर्व सो प्रदेशका विभिन्न अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा गरी ३३ जना मेडिकल अधिकृत सेवारत थिए ।
मुलुककोे सबैभन्दा ठूलोे तर विकट कर्णाली प्रदेशमा प्रदान गर्ने १५ जना सरकारी चिकित्सक परेका छन् । यो संख्या प्रदेशमा हाल सेवारत चिकित्सकको संख्याभन्दा कम हो । डा। श्रेष्ठ स्थानीय तहका कार्यकारीलाई संघले परिचालन गरेजस्तै चिकित्सकलाई दुर्गमका स्वास्थ्य संस्थामा खटाएको भए यस्तो अवस्था नआउने दाबी गर्छन् ।
निश्चित अवधि तोकेर दुर्गमका स्वास्थ्य संस्थामा चिकित्सक खटाउने व्यवस्था गरेको भए सुदूरपश्चिम–कर्णाली प्रदेशमा यस्तो अवस्था उत्पन्न नहुने उनको तर्क छ । प्रदेश र स्थानीय तहमा समायोजन भएको चिकित्सकहरू संघमा आउन नपाउने व्यवस्थाले गर्दा समायोजन भएका चिकित्सक पनि त्यहाँ नजाने अवस्था आउने डा। श्रेष्ठको भनाइ छ ।
यता ३ नम्बर प्रदेशमा आठौं तहमा कार्यरत एक सय ५१ जना चिकित्सक समायोजन भएका छन् । तीमध्ये ६० जना प्रदेश र ५१ जना स्थानीय तहमा समायोजन भएका हुन्।आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकको समायोजनको अवस्था विश्लेषण गर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशपछाडि १ नम्बर प्रदेशमा कम चिकित्सक परेका छन् ।
प्रदेश १ मा ४१ जना मेडिकल अधिकृत पठाइएका छन् । तीमध्ये २६ जना प्रदेश र १५ जना स्थानीय तहमा परेका छन् । यस प्रदेशमा पनि हाल सेवारत चिकित्सकभन्दा कम संख्या समायोजन गरिएको छ । यस्तै प्रदेश २ मा ८२ जना मेडिकल अधिकृत समायोजन भएका छन्।
तीमध्ये ४७ जना प्रदेश र ३५ जना स्थानीय तहमा परेका छन् । ५ नम्बर प्रदेश र गण्डकी प्रदेशमा ६२–६२ जना मेडिकल अधिकृत समायोजन गरिएको छ । ५ नम्बर प्रदेशमा समायोजन गरिएका मध्ये प्रदेशमा ३४ र स्थानीय तहमा २८ छन्। त्यस्तै गण्डकी प्रदेशमा ३० जना प्रदेश र ३२ जना स्थानीय तहमा समायोजनमा परेका छन् ।
एक हजार चार सय सरकारी चिकित्सकमा संघीय सरकारअन्तर्गत ३ सय ४१ जना समायोजन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कर्मचारी समायोजन महाशाखाको समायोजन सूचीले देखाउँछ । विशेषज्ञ चिकित्सकको समायोजनको स्थिति पनि मेडिकल अधिकृतको समायोजनभन्दा खासै फरक देखिन्न । समायोजन हुनुअघि सुदुरपश्चिम प्रदेशको सेती अञ्चल अस्पतालका १५ जना विशेषज्ञ चिकित्सक सेवारत थिए ।
समायोजनले तीमध्ये १३ जनालाई अन्य प्रदेशमा पु¥याइदिएको छ । सेती अञ्चल अस्पतालमा अब दुईजना मात्र विशेषज्ञ चिकित्सकले सेवा प्रदान गर्नुपर्ने अवस्था छ । सरकारले उक्त ठाउँमा तत्काल विशेषज्ञ चिकित्सक नपठाउने हो भने त्यहाँका जनताले विशेषज्ञ सेवा लिन काठमाडौंकै मुख ताक्नुपर्ने अवस्था देखिएको छ ।
कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा १६ जना विशेषज्ञ चिकित्सक रहेकोमा ११ जना संघ र अन्य प्रदेशमा समायोजन भएका छन् । अहिले सुर्खेत अस्पताल ५ जना विशेषज्ञ चिकित्सकको भरमा चलाउनुपर्ने अवस्था आएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।












