
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै २ सय ८० नेता(कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाई सरकारले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए। ‘हामीलाई सरकारले राजनीतिक शक्ति मान्दैन, लुटेरा समूहजस्तो व्यवहार गर्छ,’ पार्टीका एक केन्द्रीय नेताले भने, ‘आफैँ गोली चलाउँछन्, दोहोरो गोली चल्यो भन्छन्। आफैँ वार्ताको डङ्का पिट्छन्, उता नेता–कार्यकर्ता पक्राउ र धरपकड गर्छन्।’ खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












