२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्नमाथि नै विपत्ति : दुई हजार घरमा क्षति, एक हजार भत्किए



अ+ अ-

काठमाडौं । बाराको फेटा गाउँपालिका–३ पुरैनियाटोलका २८ वर्षीय फैयाज आलमले चार लाख खर्चेर गत वर्ष मात्रै घर ठड्याएका थिए ।

६ वर्ष कतारमा मजदुरी गरेको कमाइको उपलब्धि थियो, घर । तर, आइतबार मडारिएको हावाहुरीले क्षणभरमै उडाइदियो, घरमा रहेका खाद्य सामग्री, लत्ताकपडा र भाँडावर्तन सबै स्वाहा पारिदियो ।

मंगलबार दिउँसो ध्वस्त बस्तीनजिकै पालमुनि भेटिएका फैयाजले भग्नावशेषमा बदलिएको घरतिर नियाल्दै नयाँ पत्रिकासँग पीडा बिसाए, ‘खेत थोरै छ । कमाइले खान पुग्दैन । त्यसैले ६ वर्ष कतार बसें । थोरैथोरै जोगाउँदै जम्मा गरेको चार लाखले गत वर्ष घर बनाएँ । परिवारका सदस्यलाई केही महिनाअघि मात्रै नयाँ घरमा सारेको थिएँ । मन खोलेर बस्न नपाउँदै हुरीले जगसमेत नछोडी उडाइदियो । भएको अलिअलि अन्न र लत्ताकपडा पनि स्वाहा पारिदियो । अब के खाने, कहाँ बस्ने ठेगान छैन ।’ फैयाजको परिवारमा तीन सदस्य गम्भीर घाइते भएका छन्, आमा मोबिना खातुन, श्रीमती विस्मिता र बहिनी स्नेह ।

फेटा–६ पुरैनियाका वमिर रहमद देवान उमेरले ६० वर्षका भए । तर, उनको काँधमा २६ सदस्यीय संयुक्त परिवारको जीवन निर्वाह धान्ने जिम्मेवारी छ । खेती गर्ने जमिन नभए पनि खसी काट्दै मासु बेचेर निर्वाह चलाउँदै आएका उनले टाली (झिँगटी)ले छाएको घर पनि उभ्याएका थिए । तर, आइतबारको हुरीमा वमिरको घर पनि जोगिएन ।

‘आमा–बुबा, छोरा–बुहारी, छोरी सबै एकै ठाउँमा बस्छौँ । खेती गर्ने खेत छैन । हामी मासुको काम गर्छौँ । अलिअलि कमाइ हुन्छ । त्यहीँबाट जम्मा भएको पैसाले टालीको घर बनाएका थियौँ । हुरीले सबै उडायो,’ वमिरले भने, ‘अहिले हामी बेघरबार भएका छौँ ।’

आइतबार साँझको हावाहुरीको केन्द्र फेटाका फैयाज आलम र वमिर रहमद देवान पीडित प्रतिनिधि पात्र मात्रै हुन् । फेटा–६ स्थित राहत वितरण स्थलमा भेटिएका समाजसेवी ५५ वर्षीय नजिबुल्ला अन्सारीले फेटाका ३ र ६ नम्बर वडामा उनीहरूजस्ता बेघरबार बनेका पाँच सयभन्दा धेरै छन् । अधिकांश मुस्लिम समुदायका छन् । खेती गर्न उनीहरूको न जमिन छ न गरिखाने कुनै गतिलो पेसा । कतिपयको त बाउबाजेकै पालामा बनाइएको घर थियो । त्यही पनि हुरीले उडाइदियो ।

‘हुरीबाट विस्थापितमध्ये अधिकांश मुस्लिम छन् । सबैको आर्थिक अवस्था कमजोर छ,’ नजिबुल्लाले भने, ‘जीवन गुजारा गर्न कोही गाउँमै मजदुरी गर्छन् । कोही काठमाडौं र पोखरा जान्छन् । त्यहीँबाट आएको पैसाले ओत लाग्ने घर बनाएका थिए । हुरीले उडाएपछि सबै बेघरबार बनेका छन् ।’

फेटा–१ र बाराकै जितपुर कलैया उपमहानगरपालिका–१८ भरवालियाका हावाहुरीपीडितको वास्तविकता पनि उस्तै मार्मिक छ । सीमा जोडिएका दुई वडामा पाँच सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । हुरीले घर उडाएर विस्थापित हुने अधिकांश दलित छन्, सबैको आर्थिक अवस्था दयनीय छ । थोरै–थोरै खेत छ, उब्जनीले ६ महिना पनि पेट पालिँदैन, विकल्पमा ज्याला–मजदुरी गर्छन् । तर, भग्नावशेष जगमा घर हाल्न सक्ने हैसियत छैन ।

राहत बाँड्दै गरेको अवस्थामा भेटिएका संघीय समाजवादी फोरम बाराका कार्यबाहक अध्यक्ष अजयकुमार पटेलले भने, ‘विशेषगरी फेटा–१, ३, ६ र ७ तथा कलैया–१८ हुरीबाट सघन रूपमा प्रभावित क्षेत्र हो । यहाँ मात्रै २७ सयभन्दा धेरै प्रभावित भएका छन् । अधिकांशको आर्थिक अवस्था कमजोर छ, दलित र मुसलमान धेरै छन् । उनीहरूसँग खेतीपाती गर्न पर्याप्त जमिन छैन । जीवन गुजारा गर्न ज्याला–मजदुरी गर्छन् ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।