७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगालको खाडीमा उत्पन्न चक्रवातले नेपालमा पनि सामान्य असर



अ+ अ-

काठमाडौंः बंगालको खाडीको मध्य पश्चिम भू-भागमा शुक्रबार जवाद नामको चक्रवात उत्पन्न भएको अन्तर्राष्ट्यि संचार माध्यमहरुले जनाएका छन् । सो चक्रवात आज बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने  र तत्पश्चात् उत्तर पूर्व तर्फ सर्ने देखिएको छ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने सम्भावना नरहेको जनाएको छ । यद्यपि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ ।

बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।  आउँदो सोमबारदेखि क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

आइतबारदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आइतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागहरूका एक/दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने सम्भावना रहेको छ। यी मौसमी प्रणालीहरूका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।