
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी लोकसभा चुनावमा फेरि बनारसबाट उम्मेदार बन्ने भएका छन् । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै लडेका थिए । उक्त चुनावमा उनले विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका उम्मेदवार मधुसूदन मिस्त्रीलाई करिब ६ लाख मत अन्तरले पराजित गरेका थिए ।
बिहीबार साँझ भाजपा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै त्यस्तो घोषणा गरिएको हो । मोदीसँगै भारतीय जनता पार्टी (भाजपा) ले उम्मेदवारहरूको १८४ जना उम्मेदवारको पहिलो सूची पनि सार्वजनिक गरेको छ ।
पार्टीद्वारा सार्वजनिक गरिएको पहिलो सूचीमा वरिष्ठ नेता तथा पूर्व अध्यक्ष लालकृष्ण आडवाणी भने अटाएका छैनन् । बरु उनको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टीका वर्तमान अध्यक्ष अमित शाहलाई उम्मेदवार बन्ने भएका छन् । बिहीबार जारी सूचीमा मोदी सरकारका वरिष्ठ मन्त्री तथा पार्टीका उच्च नेताहरू पनि अटाएका छन् ।
पार्टीका पूर्वअध्यक्ष तथा मोदी मन्त्रिमण्डलका वरिष्ठ मन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उठ्ने भएका छन् । अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः एकपटक नागपुर सिटबाटै चुनाव लड्ने छन् ।
पार्टीले उत्तर प्रदेशको चर्चित चुनावी क्षेत्र अमेठीबाट यस पटक पनि केन्द्रीय मन्त्री स्मृति इरानीलाई नै उठाउने निणय गरेको छ । सन् २०१४ को चुनावमा पनि सोही क्षेत्रबाट उम्मेदार बनेकी इरानी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीसँग एक लाखभन्दा बढीको भोट अन्तरले हारेकी थिइन् ।
प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । भारतको निर्वाचन आयोगले दुई साताअघि सात चरणमा गर्ने गरी ५४३ सदस्यीय लोकसभा चुनाव घोषणा गरेको थियो ।
सन् २०१४ को चुनावमा भाजपा एक्लैले २८२ सिट प्रस्ट बहुमत ल्याएको थियो भने जब कि विपक्षी कंग्रेस इतिहासकै सबैभन्दा कमजोर नतिजा निकाल्दै ४४ सिटमा सीमित हुन पुगेको थियो ।
भारतमा आगामी २८ चैतदेखि हुने १७ औं लोकसभाको चुनाव हुनेछ ।












