२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसको निर्वाचन समिति गठन, राधेश्याम अधिकारी संयाेजक



अ+ अ-

काठमाडौँः नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल हुनुहुन्छ । 

बैठकले नियमावली मस्यौदा समिति गठनसमेत गरेको छ । विधान अनुसार पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति गठन गरिएको हो । समितिको सदस्यमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल रहनुभएको छ । 

बैठकले पार्टी केन्द्रीय अनुशासन समितिलाई समेत पूर्णता दिएको छ । पार्टीको विधान अनुसार सोमबार भीष्मराज आङ्देम्बेको संयोजकत्वमा गठित समितिलाई वैठकले पूर्णता दिएको हो । समितिको सदस्यमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल हुनुहुन्छ । बैठकले अघिल्लो अनुशासन समितिमा रहनुभएका संयोजक रमेश रिजाललगायत सदस्यलाई धन्यवादसमेत व्यक्त गरेको छ । 

बैठकले विखण्डनको बाटो परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधान भित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिबारे रहेका गम्भीर विरोधाभासलाई स्पष्ट गर्न सरकारसँग माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

सम्झौताको दुई साता पुग्दासम्म जनअभिमतमा आधारित लोकतान्त्रिक विधिको व्याख्या नगरिनु आपत्ति जनक भएको काङ्ग्रेसले जनाएको छ । यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन आह्वानसमेत गरेको छ । 

“निषेधको बाटोलाई होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न सरकारसँग काङ्ग्रेस आग्रह गर्दछ”, प्रवक्ता शर्माले भन्नुभयो । राष्ट्रिय संवेदनशीलताका विषयमा निर्णय लिनुअघि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई सरकारले त्याग गरेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको छ । 

काङ्ग्रेसले अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य मान्यता र समृद्धिको बाटोमा लैजान प्रेरित गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेको छ ।