२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिङ्गो तरुण दल चार जनाको भरमा, देउवा-पौडेल तातोपानीमा रमाउदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाले सम्हालेको तीन वर्ष पूरा भएको छ । कांग्रेसको सात दशक लामो इतिहासमा २४ फागुन २०७२ मा देउवा १४औं सभापतिका रूपमा निर्वाचित भएका थिए । देउवाको कार्यकाल आगामी २०७६ फागुन मसान्तमा सकिँदै छ । तर, संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा सभापतिले चाहेमा थपेर साढे पाँच वर्ष बनाउन सक्ने सुविधा छ ।

१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनको कार्यकालमा केन्द्रीय कार्यसम्पादन, अनुशासन, संसदीय समिति (निर्वाचनपछि विघटन भएको), निर्वाचन समिति रिक्त छन् । पार्टीका भ्रातृ संस्था तदर्थवादमा चल्दै छन् भने नेता आरोप प्रत्यारोपमा व्यस्त छन् । पार्टीको नेतृत्व सम्हालेको तीन वर्षमा १७ भ्रातृ तथा शुभेच्छुक संस्थामध्ये १३ वटाको अवधि सकिएको छ । नेपाल विद्यार्थी संघ ९नेवीसंघ०को महाधिवेशन गराउन नसकेपछि विघटित अवस्थामा छ ।

तरुण दल चार जनाको भरमा सञ्चालित छ । महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने ४२ विभाग अहिलेसम्म गठन हुन सकेको छैन । गुटगत स्वार्थ हावी हुँदा निर्वाचन समिति र अनुशासन समिति गठनमा विवाद चर्किएको छ । १० महिनाअघि विघटित केन्द्रीय कार्यसम्पादन र संसदीय समितिसमेत खाली छन् । यसैबीच सभापति देउवाले ४ चैतका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् ।

केन्द्रीय समितिमा पार्टीको विधान, नेपाल विद्यार्थी संघ, अनुशासन समिति, निर्वाचन समिति गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले सहमति नभए बैठक बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् ।

हुन त सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको सम्बन्धमा कहिले सुमधुर त कहिले टाढा देखिने गर्छ । पार्टीका निर्णयमा पनि देउवा र पौडेल कहिले दूरीमा त कहिले निकटतामा नै रहन्छन् । तर, शनिबार भने एउटै कार्यक्रममा सहभागी हुन म्याग्दी पुगेका देउवा र पौडेल दुवैले तातोपानी कुण्डमा एकसाथ डुबुल्की मारेपछि सामाजिक सञ्जालमा फेरि दुई नेताको सम्बन्धबारे चर्चा सुरु भएको छ ।
गत ८ पुसमा महासमिति बैठक समापन क्रममा समेत देउवा र पौडेलबीच एकाएक ‘डिप लभ’ र ‘इमोसनल अट्याचमेन्ट’ भन्ने शब्दले उनीहरूमा निकटता आएको महसुस गरिएको थियो ।

जसले महासमिति बैठकलाई सहज अवतरणसमेत गराएको थियो । म्याग्दीको तातोपानी स्विमिङले उनीहरूबीचको सम्बन्धमा शंका गर्नेलाई फेरि झस्काएको छ कि महासमितिको ‘डिप लभ’ र ‘इमोसनल अट्याचमेन्ट’ कायम नै छ ।

उनीहरूबीचको सम्बन्धको विषयलाई लिएर कांग्रेसका एक नेता भन्छन्, ‘देउवा—पौडेलजीको सम्बन्ध महासमिति समापनमा जस्तो थियोे, त्यस्तै छ, केन्द्रीय समिति बैठकमा पौडेलजीले नोट अफ डिसेन्ट लेखे जसो त गर्नुभयो तर उहाँको खासै असहमति होइन ।’

गत १२ फागुनमा सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले महासमितिले पारित गरेका पार्टीको विधानलाई परिमार्जनसहित बहुमतले पारित गरेपछि वरिष्ठ नेता पौडेलसहितका नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, डा। रामशरण महतले सोही दिनको बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर बहुमत र अल्पमतका आधारमा विधानजस्तो विषयमा निर्णय लिन नहुने भन्दै आपत्ति जनाएका थिए ।
त्यसयता १४ फागुनका लागि सभापति देउवाले बैठक डाकेपछि संस्थापनइतर समूहका नेताको बहिष्कारको चेतावनीका कारण बैठक स्थगित गरिएको थियो ।

यसबीचमा इतर समूहले देउवाको रणनीतिमा कसरी तगारो हाल्ने भनेर आफ्नै गुटमा छलफल पनि गरिरहेका छन् ।
तर, देउवाले फेरि ४ चैतका लागि केन्द्रीय समिति बोलाएका छन्, त्यही बीचमा राजधानीमा हुन नसकेको देउवा—पौडेलको भेट म्याग्दीको तातोपानी कुण्डमा भएको छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने दुवै नेताका कार्यशैली फरक रहेको र उनीहरूबीचको मतभेद पनि कार्यशैलीमा नै आधारित रहने गरेको बताए । उनले म्याग्दीको दुई नेताको तातोपानी स्नानले भने पार्टीभित्रको विवादलाई सकारात्मक अवतरण गराउन सक्ने जनाए ।
‘सम्बन्ध जति टाडिँदै गयो, त्यति दुरीमा रहने गर्छ, उहाँहरू दुवैको भेट तातोपानी कुण्डमा हुँदा केही न केही त दुरी कम होला नै, यो पार्टीमा देखिएको वर्तमान विवादको सहज अवतरणको संकेत पनि हुन सक्छ,’ राजनीतिक विश्लेषक आचार्यले भने ।

आचार्यले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई तथा बीपी कोइराला र सुवर्ण शमशेरका बीचमा समेत पार्टीभित्रका आन्तरिक मामलामा विवाद देखिने गरेको तर बाहिरी भेटघाटले विवादलाई सहज अवतरण गराएका उदाहरण रहेको जनाए ।
सभापति देउवा र पौडेल दुवैले बिहीबारदेखि जिल्ला दौडाहा सुरु गरेका हुन् । पार्टीको केन्द्रीय समितिअघि मात्रै दुवै नेता राजधानी फर्कने उनीहरु निकट स्रोतले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।