७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोन भ्याक्सिनमा प्रवेश गर्छ, त्यसोभए उपचार सम्भव छैन ?



अ+ अ-

काठमाडौँ । मोडर्नाका सिइओ स्टिफन बेन्सल कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले कोभिड–१९ विरुद्धका भ्याक्सिनलाई पनि पराजित गर्नसक्ने ठान्छन् । उनले विद्यमान कोभिड भ्याक्सिन, कोरोना भाइरसको डेल्टा भाइरसका विरुद्ध जति प्रभावकारी सावित भएको छ त्यति ओमिक्रोनमाथि नहुने बताएका छन् । उता ओमिक्रोन भेरिएन्टका बिरामीहरु नयाँ नयाँ देशमा फेला परिरहेका छन् । सूचीमा भर्खरै जोडिएका दुई मुलुक फ्रान्स र जापान छन् ।

मोडर्नाका सिइओ बेन्सलले ओमिक्रोन भेरिएन्टलाई लिएर ठूलो खतराको आशङ्का व्यक्त गरेका छन् । उनका अनुसार यो भेरिएन्टका कारण अस्पतालमा भर्ना हुने बिरामीहरुको सङ्ख्या बढ्नेछ । ओमिक्रोनलाई लिएर प्राप्त भइरहेका वैज्ञानिक जानकारीहरु चिन्ता बढाउने खालको भएको उनले बताए । उनले भने, ‘हामी हतारमा कुनै निर्णय लिन चाहँदैनौँ, हामीलाई अरु पनि डाटा प्रतीक्षा गर्नु जरुरी छ, मैले जति पनि वैज्ञानिकहरुसँग कुरा गरेँ, उनीहरुले महामारीका हिसाबले यो राम्रो सङ्केत होइन भनेका छन् ।’ बेन्सलले अझ धेरै सङ्क्रमितहरु अस्पतालमा भर्ना हुनसक्ने आशङ्का व्यक्त गरे । उनका अनुसार धेरै समयसम्म महामारीको सामना गर्नुपर्ने हुनसक्छ । यसअघि उनले नयाँ भेरिएन्टका विरुद्ध नयाँ भ्याक्सिन बनेर आउन महिनौँ लाग्न सक्ने बताएका थिए । 

अरु भ्याक्सिनका बारेमा के हो ?

विश्वको प्रतिष्ठित पत्रिका ‘दि नेचर’ मा प्रकाशित एक लेखमा भनिएको छ– दक्षिण अफ्रिकामा जति मानिसलाई ओमिक्रोन भाइरसको सङ्क्रमण भयो, तिनमा केहीले जोन्सन एन्ड जोन्सन, केहीले फाइजर–बायोएनटेक र केहीले एस्ट्राजेनिका (कोभिसिल्ड) भ्याक्सिनको डोज लिएका थिए । अर्थात ओमिक्रोनले यी तीनवटै भ्याक्सिनमा प्रवेश गर्न सफल भएको छ । ओमिक्रोन भाइरसले यी तीनवटै भ्याक्सिनको व्यूहलाई तोड्न सफल भइरहेको छ । यसको अर्थ भ्याक्सिन बिल्कुल अनुपयोगी छ भन्ने होइन । 

ओमिक्रोन सङ्क्रमितको उपचार सम्भव छैन त ?

जहाँसम्म कोभिड सङ्क्रमितको उपचारको कुरा छ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार पछिल्लो दुई वर्षमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीहरुको उपचारमा जुन पद्धतिहरुको आविष्कार भए तिनीहरु ओमिक्रोन सङ्क्रमितका लागि उपयोगी साबित हुनुपर्छ । उसका अनुसार कोर्टिकोस्ट्रइड्स र आइएल६ रिसेप्टर ब्लक गर्ने उपचारको तरिका नयाँ भेरिएन्टका बिरामीहरुमा पनि सफल हुनुपर्छ । यद्यपि अन्य तरिकाहरुको उपचार कति प्रभावकारी रहन्छ त्यसको आकलन गर्नुपर्नेछ ।

कोरोना भाइरसको १३औँ ठूलो भेरिएन्ट

कोरोना भाइरसका भेरिएन्टहरुको नाम ग्रीक वर्णमालाका अक्षरहरुको क्रममा राखिएको छ । ओमिक्रोन यो वर्णमालाको १५ औँ अक्षर हो । यसैले अनुमान लगाउन सकिन्छ कि कोरोना भाइरसले एक वर्षमा कति रुप परिवर्तन गरेको छ र यसको उत्परिवर्तनको गति कति तीव्र छ । यसको पहिलो ठूलो भेरिएन्ट अल्फा सम्भवतः सन् २०२० मा फेला परेको थियो । जबकि एक वर्षपछि नै ओमिक्रोन भेरिएन्ट सन् २०२१ अक्टोबरको पहिलो हप्तामा आइपुग्यो । यो फरक कुरा हो कि ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नोभेम्बर ११ मा देखिएको थियो । ग्रीक वर्णमालाको १३ औँ अक्षर ‘नू’ (Nu) र ‘शी’ (Xi) को नाममा भेरिएन्टको नाम राखिएको छैन । डब्लुएचओले ‘नू’ को अर्थ कतै ‘नयाँ’ (New) ननिकालुन् भनेको छ । त्यस्तै चिनियाँ राष्ट्रपतिको नाम पनि ‘शी’ भएकाले यो अक्षरलाई छोडिएको छ । त्यसैले १३औँ भेरिएन्टलाई ग्रीक वर्णमालाको १५औँ अक्षरको नाम प्राप्त भएको हो । 

पाँचौँ भेरिएन्ट अफ कन्सर्न

कोरोना भाइरसलाई अहिलेसम्म प्राप्त भएका ठूला भेरिएन्टहरुमा पाँच वटालाई मात्र भेरिएन्ट अफ कन्सर्न श्रेणीमा राखिएको छ । यसमा एउटा ओमिक्रोन पनि समावेश छ । यो श्रेणीका भेरिएन्टहरुले कोभिड–१९ महामारीको रुप दिएर ठूलो विनाश निम्त्याएका छन् । बाँकी आठलाई भेरिएन्ट अफ इन्ट्रेस्टको श्रेणीमा राखिएको छ । अर्थात यी भेरिएन्टहरु धेरै खतरनाक होइनन् । ध्यान दिनुपर्ने कुरा के छ भने ओमिक्रोनलाई छोडेर जुन अन्य चार भेरिएन्ट अफ कन्सर्न छन् ती गत वर्ष मेदेखि नोभेम्बर महिनाको बीचमा फेला परेका थिए । अर्थात ओमिक्रोन करिब करिब एक वर्षपछि आएको छ । 

उत्परिवर्तनको राजा

ओमिक्रोनले एक वर्ष लामो अन्तरालको प्रयोग उत्परिवर्तनका साथ सुदृढ गठजोड गर्नमा खर्चियो । यही कारणले अहिलेसम्म यसको ५० उत्परिवर्तन पत्ता लागिसकेको छ जबकि कोरोनाको दोस्रो लहरमा विनाशकारी डेल्टा भेरिएन्टलाई यसको आधा उत्परिवर्तन प्राप्त भएको थियो । ओमिक्रोनको ५० उत्परिवर्तनमा ३२ स्पाइक प्रोटिन पाइएको छ जुन डेल्टमा १० थियो । यो चिन्ता बढाउने कुरा हो किनकी विद्यमान अधिकांश कोरोना भ्याक्सिनले पनि स्पाइक प्रोटिनमार्फत मात्र भाइरस पहिचान गर्छन् । जब स्पाइक प्रोटिनमा उत्परिवर्तन आउँछ, भ्याक्सिनलाई भाइरस चिन्न समस्या हुन्छ । अर्को चिन्ताको विषय के हो भने स्पाइक प्रोटिनको ती हिस्सामा पनि ओमिक्रोनको १० उत्परिवर्तन पाइएको छ जसको प्रयोग भाइरसले मानिसको शरीरका कोषमा प्रवेशका लागि गर्छ । डेल्टामा दुईवटा मात्र यस्तो उत्परिवर्तन पाइएको थियो । यही कारणले डब्लुएचओले ओमिक्रोनलाई तुरुन्तै भेरिएन्ट अफ कन्सर्न घोषणा गर्यो । 

चतुर आक्रमणकारी

ओमिक्रोनले यति धेरै उत्परिवर्तन गर्यो कि यसले सङ्क्रमण फैलाउने गतिको मामिलामा अहिलेसम्का सबै भेरिएन्ट अफ कन्सर्नको श्रेणी भएका भेरिएन्टलाई पछाडि पारेको छ । वैज्ञानिकहरुका अनुसार ओमिक्रोनले कोषमा प्रवेश दिने स्पाइक प्रोटिनको हिस्सामा धेरै उत्परिवर्तन गरेको छ । मानव कोषमा जति सजिलै भाइरसले प्रवेश गर्छ त्यति नै धेरै उसको सङ्ख्या बढ्छ र त्यति नै धेरै गतिले अन्य मानिसलाई सङ्क्रमित बनाउँछ । 

यद्यपि सुरुका केही समाचारमा ओमिक्रोन सङ्क्रमण फैलाउने मामिलामा डेल्टाको तुलनामा छ गुणा तीव्र छ भनिएको थियो । तर यसलाई पुष्टि गर्न अहिलेसम्म पर्याप्त आँकडा प्राप्त भएको छैन । डब्लुएचओले अहिलेसम्म ओमिक्रोन धेरै सङ्क्रामक छ र यसको गम्भीर परिणाम आउन सक्छ भनेको छ । उता दक्षिण अफ्रिकाको ग्वान्तेङ प्रान्तमा ओमिक्रोनको सङ्क्रमण तीव्ररुपमा बढेको छ । त्यहाँ स्कुलका विद्यार्थी र युवाहरु यो भेरिएन्टको शिकार भएका छन् । नोभेम्बर १२ देखि २० सम्ममा जम्मा गरिएको सबै ७७ नमूनामा ओमिक्रोन भेरिएन्ट फेला परेको छ । 

के यो प्राणघातक छ ?

डेल्टाको तुलनामा सम्भवतः यो तीव्ररुपमा फैलिन्छ तर यो अन्य भेरिएन्ट्स अफ कन्सर्नको तुलनामा कति प्राणघातक हुन्छ भन्नेबारेमा अहिलेसम्म स्पष्टरुपमा भन्न सकिएको छैन । दक्षिण अफ्रिकी सरकारलाई यो भेरिएन्टप्रति सतर्क गराउने डा एन्जेलिक कोएट्जीले ओमिक्रोनबाट सङ्क्रमित बिरामीहरुलाई मध्यम लक्षण देखिएको बताएका छन् । उनका अनुसार उनीसँग आएका ओमिक्रोनको पहिलो सङ्क्रमित धेरै थोकेको थियो र उसको शरीर तथा टाउको दुखेको थियो । उसको घाँटी दुखेको थियो तर कफको समस्या थिएन । गन्ध र स्वाद लिने क्षमता पनि हराएको थिएन । डा कोएट्जीले ती सङ्क्रमितका सम्पूर्ण परिवारलाई सङ्क्रमण भएको र सबैलाई मध्यम लक्षण देखिएको बताए ।