२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा पनि नेपालीहरुको आन्दोलन, यस्तो छ कारण !



अ+ अ-

काठमाडौं । अध्यागमनसम्बन्धी अस्थायी व्यवस्था टेम्पोररी प्रोटेक्टेड स्टाटस टीपीएसको समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरूले हिमपातको समेत वास्ता गरेनन्स ह्वाइट हाउसअघि टीपीएसका पक्षमा नाराबाजी गरिरहे।

नेपालीभाषीहरूको अधिकारका लागि न्युयोर्कमा कार्यरत ‘अधिकार’ नामक संस्थाको नेतृत्वमा टीपीएसवाहक, समर्थक र अधिकारकर्मीहरू वासिङ्टन डीसी पुगेका थिए। नेपालीको प्रदर्शनमा विभिन्न मुलुकका टीपीएस प्राप्त नागरिकले समेत समर्थन जनाएका छन्।

नेपाल र होन्डुसरको टीपीएस समाप्त नगर्न माग गर्दै दुई दिनअघि अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा तीन जना नेपालीले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता गरेका छन्। केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले त्यहाँको सरकारलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको दुई दिनपछि वासिङटन डीसीमा बृहत् प्रदर्शन गरिएको हो। गत वर्ष सानफ्रान्सिस्कोमा संघीय न्यायाधीशले एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस अन्त्य गर्न अस्थायी रोक लगाएका थिए। त्यसमा नेपाल र होन्डुरस भने परेका थिएनन्। यसअघि हैटी, निकारागुवा, सुडान, एल साल्भाडोरको टीपीएस अन्त्य नगर्न अदालतले आदेश दिइसकेको छ। सोही नजिरका आधारमा नेपाल र होन्डुरसको टीपीएस खारेज नगर्न भन्दै अदालतमा मुद्दा दर्ता गरिएको हो।

नेपालले तीन वर्षअघि प्राप्त गरेको टीपीएस सेवाको अवधि जुन २४ मा सकिँदै छ। ‘अमेरिकी सरकारले त्यसको घोषणा गरिसकेको छ। त्यसैले हामीले यसको स्थायी समाधान खोज्न गृहकार्य गरिरहेका थियौं’, अधिकार संस्थाकी संस्थापक नर्वदा क्षेत्रीले भनिन्, ‘लामो समयको तयारीपछि अमेरिकी सरकारविरुद्ध मुद्दा दर्ता गरिएको हो।’

वासिङटन डीसीको ह्वाइट हाउस अघिल्तिरको पेन्सिलभेनिया एभिन्यु हुदै ट्रम्पको इन्टरनेसनल होटल र क्यापिटल हिलसम्म उनीहरूले नाराबाजी गरे। र, टीपीएसबारे नेपाली गीत बनाएर नाचगान गर्दै ट्रम्प सरकारको ध्यानाकर्षण गराए। झन्डै ५ हजार संख्यामा विभिन्न मुलुकका सहभागी भेला भएका थिए। प्रदर्शनमा सहभागी हुन न्युयोर्क, भर्जिनिया, वासिङटन डीसी, मेरिल्यान्ड, बोस्टन, टेक्सासलगायत राज्यबाट नेपाली उपस्थित भएको क्षेत्रीले जानकारी दिइन्।

अमेरिकाले हालसम्म १३ मुलुकलाई टीपीएस सुविधा प्रदान गरेको छ। त्यहाँको सरकारले सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप वा अन्य कुनै कारणले आफ्नो देश सुरक्षित नभएको अवस्थामा ती मुलुकका व्यक्तिलाई अमेरिकामा कानुनी रूपमा बस्न र काम गर्ने अधिकारका लागि टीपीएस सुविधा दिन्छ। प्रायः सम्बद्ध देशको अवस्था सामान्य नहुँदासम्म अमेरिकाले यस्तो सुविधा दिने गर्छ। तर, नेपाललगायत धेरै मुलुकको प्रतिकूल अवस्थामा सुधार आएको भन्दै अमेरिकी प्रशासनले टीपीएस खारेज गरेको हो।

अमेरिकाले हालसम्म ४ लाख ३६ हजार ८ सय ६९ विदेशी नागरिकलाई टीपीएस सुविधा दिएको छ। यसमध्ये १४ हजार ७ सय ९१ नेपालीले यो सुविधा पाएका थिए। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार एल साल्भाडोर, हैटी, होन्डुरस, नेपाल, निकारागुआ, सोमालिया, सुडान, साउथ सुडान, सिरिया र यमनले यो सुविधा पाएका छन्।

सन् २०१५ मा नेपालमा भूकम्प गएपछि अमेरिकामा रहेका झन्डै १४ हजार ७ सय ९१ जना नेपालीले टीपीएस सुविधा लिएका थिए। नेपालले सन् २०१५ को जुन २४ मा टीपीएस प्राप्त गरेको हो। तर, जुन २४ बाट यसको अवधि समाप्त भए हजारौं नेपालीले अमेरिका छाड्नुपर्नेछ। अन्नपूर्णबाट