७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको पहिलो तस्बिर सार्वजनिक, डेल्टाभन्दा खतरनाक



अ+ अ-

काठमाडौँ । इटालीका अनुसन्धाताहरुले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको पहिलो तस्बिर सार्वजनिक गरेका छन् । नयाँ स्ट्रेन मूल कोरोना भाइरसको अत्यन्त परिवर्तित रुप भएको तस्बिरले पुष्टि गरेको छ । डेल्टा भेरिएन्टको तुलनामा ओमिक्रोनमा अधिक परिवर्तन देखिएको छ । यद्यपि विश्वभर सनसनी मच्चाएको यो भेरिएन्ट कति सङ्क्रामक र कति घातक छ भन्नेबारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

डेल्टाभन्दा धेरै फरक छ ओमिक्रो

बेबी जिसस पेडियाट्रिक अस्पतालले यसको फोटो सार्वजनिक गरेको हो । यसमा बायाँतर्फ डेल्टा भेरिएन्ट र दायाँतर्फ ओमिक्रोन भेरिएन्टलाई स्पाइक प्रोटिनमा देखाइएको छ । अनुसन्धाताहरुका अनुसार ओमिक्रोन धेरैजसो त्यो क्षेत्रमा परिवर्तन भएको छ जहाँ मानिसको कोशिकाहरुमा सम्पर्कमा आएको छ । 

तस्बिरमा देखिएको रातो घेराले त्यहाँ अत्यन्त धेरै परिवर्तन आएको देखाएको छ । भाइरस पहिलाकै रुपमा विद्यमान रहेको खैरो क्षेत्र हो । अनुसन्धाताहरुले नयाँ भाइरस तटस्थ छ वा कम खतरनाक छ वा धेरै खतरनाक छ भन्नेबारे थप अध्ययनबाट पत्ता लाग्ने बताएका छन् ।

विश्वमै थाहा भइसक्यो ओमिक्रोनका बारेमा 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नोभेम्बरमा कोभिड भेरिएन्ट B.1.1.529 लाई ओमिक्रोन नाम दिँदै यसलाई भेरिएन्ट अफ कन्सर्न भनेको थियो । नयाँ भेरिएन्टबारे बुझ्न सारा विश्वका वैज्ञानिकहरुले माथापच्ची गरिरहेका छन् । इटालेली अनुसन्धाताहरुको जस्तै डब्लुएचओले पनि ओमिक्रोन अन्य भेरिएन्टभन्दा धेरै सङ्क्रामक छ वा छैन भन्नेबारेमा अझै स्पष्ट नभएको बताएको थियो । ओमिक्रोन भेरिएन्टको लक्षण अन्य भेरिएन्टभन्दा फरक छ/छैन भन्नेबारेमा पनि स्पष्टता छैन ।

ओमिक्रोनबाट डरायो विश्व, मुलुकहरुले लगाउन थाले कडा प्रतिबन्ध

नयाँ भेरिएन्ट ओमिक्रोनलाई नियन्त्रण गर्नका लागि विश्वभर यात्रामा प्रतिबन्धलाई कडा बनाउन थालिएको छ । इजरायलले यो भेरिएन्टको एउटा मामिला आएपछि आफ्ना नागरिकमाथि ५० अफ्रिकी मुलुकको यात्रा गर्न प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियाली अधिकारीहरुलाई आइतबार दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुमाथि कडा जाँच गरिरहेको देखिएको थियो । यहाँ आइतबार दक्षिण अफ्रिकी मुलुकहरुबाट आउने १४ मध्ये २ विदेशी यात्रीमा ओमिक्रोन भेरिएन्टको मामिला पुष्टि भएको थियो ।
 
न्यूजिल्याण्डले यसको खतराका कारण ९ दक्षिण अफ्रिकी मुलुकबाट यात्रुहरुलाई आउन प्रतिबन्ध लगाएको छ । जापानले पनि प्रतिबन्धलाई कडा बनाउने घोषणा गरेको छ । थाइल्याण्डले अफ्रिकी ८ मुलकका यात्रुहरुलाई आफ्नो मुलुक आउन प्रतिबन्ध लगाएको छ । सिङ्गापुरमा पनि यस्तै प्रतिबन्ध लागू गरिएको छ । पाकिस्तानले पनि दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि ७ मुलुकको यात्रामाथि सबै प्रकारको प्रतिबन्ध लगाएको छ । कुवेतले पनि ९ अफ्रिकी मुलुकसँगको सीधा हवाई उडानलाई निलम्बन गर्ने निर्णय गरेको छ । 

नेपालमा पनि प्रतिबन्ध लगाउन सिफारिस

नेपालमा पनि कोरोनाको नयाँ भेरिएन्ट भेटिएका देशहरुसँगको हवाइ उडानमा रोक लगाउन मन्त्रिपरिषद्लाई कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सिफारिस गरेको छ ।

आइतबार बसेको समिति बैठकले नयाँ भेरिएन्ट देखिएका मुलुकसँगको उडानलाई रोक्ने वा कडाइ गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।