२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अमेरिकाबाट संविधान लेखन प्रक्रियाको स्वागत



अ+ अ-

काठमाडौं, भदौ २९ । भारतले नेपालमा संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको प्रगतिको स्वागत गरेको छ । यस क्रममा धेरै विवादित विषय समाधान भइसकेको भन्दै त्यसका लागि नेपाली नेताहरूले प्रदर्शन गरेको एकताको उसले सराहना गरेको छ ।

नयाँ संविधान मुलुकका सबै क्षेत्र, भाग र समाजले ग्रहण गर्न सक्ने र अपेक्षा पूरा गर्ने हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको पनि भारतले जनाएको छ ।

‘भारतले सधैं नेपालमा शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ,’ भारतीय विदेश मन्त्रालयले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई दशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी हौं, जसले नकारात्मक परिणामहरू समेत दिँदै आएका छन् ।’

नेपाल अझै यो संकटबाट माथि उठ्न नसकेको औंल्याउँदै गत वैशाखको महाभूकम्पले पु¥याएको ठूलो क्षतिका सन्दर्भमा यो पीडादायी रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘संकट राजनीतिक होस् या प्राकृतिक, भारत सधैं नेपालको समृद्धि र हित चाहन्छ । नेपाल सधैं आफ्नै ताकतमा खडा हुन सकोस् भन्ने पनि भारतको चाहना हो,’ विज्ञप्तिमा भनिएको छ, ‘केही सातायता नेपालको नेतृत्ववर्ग गहन रूपमा साझा परामर्श र संवादमार्फत संविधान निर्माणको महत्वपूर्ण कार्यभारमा व्यस्त छ । प्रगतिशील, आधुनिक र एकीकृत नेपाललाई केन्द्रविन्दु बनाएर सबै क्षेत्र र भागका लागि स्वीकार्य संविधान निर्माणका निम्ति नेपाली नेताहरूबाट उत्साहजनक अभिव्यक्तिहरू आएका छन् । यसबाट हामीलाई समेत खुसीको सञ्चार भएको छ ।’

पछिल्ला केही वर्षयता नेपालको राजनीतिक नेतृत्वले धेरै चुनौतीको सामना गर्न परिपक्वता र विवेक प्रयोग गरेको विज्ञप्तिमा उल्लेख रहेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

‘यसबीचमा सम्पन्न दुई निर्वाचनले शान्तिप्रक्रिया र बहुदलीय संवैधानिक लोकतन्त्रको विकासलाई टेवा र्पुयाएको छ,’ सोमबार अबेर जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालले शान्तिप्रक्रियामा प्राप्त गरेका उपलब्धि प्रशंसनीय छन् ।’

नेपालमा विभिन्न भागमा भइरहेका प्रदर्शन र हिंसाबारे भारतको चासो रहँदै आएको बताउँदै विज्ञप्तिमा नेपाललाई भयावह हिंसाले एकपटक फेरि विचलित बनाएको उल्लेख छ । ‘त्यसबाट पीडित हुने सुरक्षाकर्मी वा नागरिक जो भए पनि ती सबै नेपाली हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा महाभूकम्पले तहसनहस बनाएको नेपालमा यी पछिल्ला घटनाक्रमले ल्याएका विपत्तिले संसारका जुनसुकै मुलुकलाई दुःखी बनाउने उल्लेख छ । ‘यस परिप्रेक्ष्यमा हामीले सबै राजनीतिक शक्तिलाई मुख्य मुद्दाहरूमा संवाद र सम्भावित सम्झौतामा हिंसारहित वातावरणका लागि जोड दिँदै आएका छौं,’ विज्ञप्तिमा छ ।

नेपालका राजनीतिक दल, संगठन र प्राज्ञिकवर्गले सधैं परिपक्वता र संकटबाट निकासको मार्ग पहिल्याउँदै आएको बताउँदै विदेश मन्त्रालयले भनेको छ, ‘नेपाली नेताहरूको निरन्तर नेतृत्व र इच्छाशक्तिका कारण यो सम्भव भएको छ । स्थिर र टिकाउ संविधानबाट मात्र आधुनिक नेपालको निर्माण सम्भव छ । यसमा नेताहरूले कुनै कसर छाड्ने छैनन् भन्नेमा हामी आशावादी छौं ।’

भारत सरकार नेपाल र नेपाली जनतासँगको सौहार्दपूर्ण सम्बन्ध चाहने तथा शान्ति, स्थायित्व र सामाजिक आर्थिक विकासका लागि सधैं समर्थन र सहयोग गर्न तयार रहेको पनि उसले जनाएको छ ।

त्यसैगरी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विज्ञप्ति जारी गरी नेपालमा बन्न लागेको नयाँ संविधानले शान्त र समृद्ध नेपाल निर्माण गर्ने आशा व्यक्त गरेका छन् । नेपालको आर्थिक विकासका लागि आधारशिला बनाउन पनि संविधान महत्वपूर्ण रहेको विज्ञप्तीमा जनाइएको छ ।