७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा नेपाल बारको धर्ना, के भन्छन् वकिलहरु ?



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । 

शुक्रवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरु समक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालन भएको भन्दै न्यायाधीशहरुसँग गरेको सहमतीपनि पालना नगर्नेतर्फ न्यायाधीशहरुलाई सचेत गराउनुभयो । 

उहाँले भन्नुभयो – ‘यो प्रधानन्यायाधीशसँग न दिमाग छ, न मन छ, न आत्मा छ । यो प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालित छ । यो प्रधानन्यायाधीशले यहाँ जे सहमती गर्छ, म अन्य मान्य न्यायाधीशहरुलाई पनि अनुरोध गर्न चाहान्छु, यो प्रधानन्यायाधीशले तपाईहरुसँग गरेका कुनैपनि सहमती त्यो भुमिगत गिरोह, विचौलियाको नाइके, प्रतिकार समुहकोमा पुग्नुभन्दा अगाडीसम्म मात्रै कायम रहन्छ । त्यहाँ पुगेपछि उसका तमाम सहमतीहरु पालना हुँदैनन् । यो प्रधानन्यायाधीश आफ्नो विवेकले चल्दैन । 

यो प्रधानन्यायाधीश बिचौलियाको माफियाहरुबाट सञ्चालित छ । यस्तो प्रधानन्यायाधीशलाई हामी प्रधानन्यायाधीश मान्न सक्दैनौँ । आजै, अहिल्यै, तत्क्षण यो प्रधानन्यायाधीशले राजीनामा दिनुपर्दछ । म प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु र सम्पूर्ण सांसदहरुलाई म आह्वान गर्न चाहान्छु, तपाईहरु कसको बलमा माननीय हुनुभएको छ अहिले ? कानुन व्यवसायीले रातदिन खटेर, मुद्दा लेखेर, रातदिन बहस गरेर, अदालतमा झगडा गरेर, आफ्नो मेहनत गरेर, बिना पैसा बहस गरेको कारणले प्रतिनिधि सभा पुर्नस्थापना भएको छ । त्यसको आडमा तपाईहरु सांसद हुनुभएको छ । 

त्यसको आधारमा तपाईहरु नेता हुनुभएको छ, त्यसको आधारमा तपाई गृहमन्त्री हुनुभएको छ । खबरदार भोली यस्तै हुने हो  र कानुन व्यवसायीमाथि प्रहरी दमन हुने हो भने हामीले त्यस्तो दिन भन्नु नपरोस् । सम्पूर्ण नेता र राजनीतिक दलका नेताहरुलाई भन्न चाहान्छु । महाअभियोग लगाउनुस् र निष्काशन गर्नुस् ।’

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरुलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गर्नुभयो । उहाँले प्रत्येक दलका नेताहरुको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप लगाउनुभयो । नेताहरुको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङको रुपमा सर्वोच्चमा अड्काएको कारणले नेताहरु बोल्न नसकेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो विषयवस्तु छुनुपर्ने भनेको नेपालका दलहरुमा, जो सरकारमा छन् । जो प्रतिपक्षमा छन् । ति दलहरुलाई यसले किन छोएको छैन । के यी दलहरुको लागि यो न्याय प्रणाली होइन ? न्यायपालिका होइन ? अवश्य हो । 

किनभने प्रत्येक दलहरुको चोलेन्द्र शमशेरसँग लेनदेन छ । सबले हिसाबकिताब गरेका छन् । सबै दलका नेताहरुको कुनै न कुनै ढंगका यहाँ मुद्दा, मामिला छन् । ति मुद्दा, मामिला बार्गेनिङ ढंगले यहाँ अड्किइरहेको छ । त्यसैले यि दलहरु बोलिरहेका छैनन् । अहिलेका दलहरुले सोचिराखे हुन्छ । सर्वोच्च अदालतमा, नेपाल बारको प्रांगणमा सुरु भएको यो आन्दोलन एउटा झिल्का हो । यदी दलहरुले यो कुरालाई ध्यान दिएनन् भने सम्पूर्ण सत्ता नै गुमाउनुपर्ने अवस्था पनि आउन सक्छ । यो होस् गर्नु ।  यो आन्दोलनको एउटा झिल्का हो ।’

बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको बताउनुभयो । प्रधानन्यायाधीले जनताको लागि इजलाश चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेको जिकिर गर्नुभयो । उहाँले शक्तिशाली नेताहरुको मुद्दा सर्वोच्चमा रहेको र ति मुद्दालाई देखाएर नेताहरुलाई तर्साइएको कारण नेताहरु प्रधानन्यायाधीशको विरुद्धमा बोल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामिले जुन आन्दोलन गरिराखेका छौँ । त्यो आन्दोलन दबाउन गृहमन्त्री, प्रधानमन्त्री, सबैलाई ति दलालहरु जसको सेवामा प्रधानन्यायाधीशले आफ्नो पदको दुरुपयोग गरिरहनुभएको थियो उनीहरुको लागि उहाँ बसिरहनुभएको छ । तपाई हाम्रो लागि होइन, यो प्रष्ट भयो । कुनै भ्रममा नपर्नुस् । 

तपाई हाम्रो लागि उहाँ तयार हुनुहुन्न, इजलाश चलाउन सक्नुहुन्न । तर प्रधानन्यायाधीशको कुर्सि समातेर बस्न बाध्य हुनुपर्छ उहाँले । तपाईँ हामीले चाह्यो भने भेट सम्भव छैन । अन्यायमा परेको व्यक्तिले प्रधानन्यायाधीश भेटौँ भनेर खोज्यो भने उहाँको प्रशासनले पनि सायद भेट्न सक्दैन । तर दलालहरु, माफियाहरु, र तस्करहरु जुन वर्गको उहाँले सेवा गरिरहनुभएको छ या उहाँ सेवा गर्न बाध्य हुनुहुन्छ, सायद उहाँलाई त्यहाँ पु¥याउने तत्व त्यही नै हो । यो चिन्नु जरुरी छ । यो त जनआन्दोलन भन्दापनि, जनयुद्ध भन्दापनि धनसँगको युद्ध बडा खतरा रहेछ । यो यति पावरफुल रहेछ, उसले चाहादा पुलिसलाई लठ्ठी हान्नु भन्दा हान्दो रहेछ । एसएलआर लिएर सर्वोच्च अदालतमा छिर भन्दा तुरुन्तै छिर्दो रहेछ । हर लेभलमा उसको पहुँच छ हेर्नुस् ।

त्यसैले यो सरकार र जतिपनि संस्थाहरु हामीले बनाएका छौँ । त्यो सामान्य नागरिकको लागि राखिएको हो । तर यहाँ होइन रहेछ, उनीहरुको कब्जामा रहेछ । यो प्रष्ट रुपमा देखियो । नेताहरुको कान बहिरा छैनन् धेरै कुरा सुन्छन् । तर आँखा चाहीँ अन्धो छ । ति दलालहरु बाहेक नेताहरुकैमा भेट्न जानुप¥यो भनेपनि दलालहरुको लागि चौबिसै घण्टा तयार । तर तपाई हाम्रा कुरा सुन्नलाई कतिदिन धाएर पनि सम्भव छैन । हामीले बनाएर हर सरकारी संयन्त्रहरुमा उनीहरुको कब्जा छ । नेताहरु किन बोलिराख्या रैनछन् मैले थाहा पाएँ । धेरै शक्तिशाली भन्ने नेताहरुको यहाँ मुद्दा रहेछ, त्यो मुद्दामा उहाँले आतंक पठाइराखेको रहेछ नेतालाई । भन्नुस् त हाम्रो कस्तो न्यायालय रहेछ । नेताको मुद्दा पर्दाखेरी एउटा प्रधानन्यायाधीशले नेतालाई थर्काउन सक्ने । बाँकी अन्यायमा परेका नागरिक माथि कस्तो आतंक होला ?’

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ ।