छिन्ताङ । छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ । निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कार्तिक २९) गते शहीद स्मृति दिवस मनाइएको छ ।
परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना शहीद बनेका खोपु-छिन्ताङ घटनामा मारिएका शहीद परिवारले उठाएका माग पूरा नभएको बताउँछन् । छिन्ताङबासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व भएपनि राज्यस्तरबाट गाउँको समृद्धि र सहिद परिवारका लागि अझै थप केही होेस् भन्ने चाहना रहेको शहीद परिवारका सदस्य झलकमान राईले बताउनु भयो ।
राईले भन्नुभयो, ‘छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर एक रोजगार, राष्ट्रिय शहीदको कुरा, पारा नमिलाएर घोषणा गरिएको छ, शेरबहादुर देउवाले घोषणा गरेको शहीद मान्ने गरेको छैनौँ । शहीद परिवारको आर्थिकपक्ष सबल बनाइदिनु पर्ने । त्यसका लागि सरकारले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्छ ।’
त्यस्तै शहीद परिवारका सदस्य गंगाबहादुर राइले सरकारले शहीद परिवारलाई मध्यनजर गरेर विद्यालय र केही सुविधा दिएको बताउनुहुन्छ । राई भन्नुहुन्छ, ‘विद्यालय र केही सुविधा दिएको तर केही मागहरु पूरा गरेको छैन ।’ छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर, एक रोजगार, राष्ट्रिय शहीद बनाउनु पर्ने, र शहीद परिवारको आर्थिकपक्ष सबल बनाउन सरकरले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्ने शहीद परिवारका सदस्यहरुको माग छ ।
त्यस्तै जनप्रतिनिधिहरु भने शहीद परिवारलाई उनीहरुको सबै माग पूरा नभए पनि धेरै मागहरु पूरा गरिसकेको बताउँछन् । कार्यक्रममा पुग्नुभएका नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीका अध्यक्ष राजेन्द्रकुमार राईले शहीदहरुकै कारण छिन्ताङ विकसित भइरहेको भन्दै जनप्रतिनिधिहरुले शहीद परिवारका सबै सदस्यलाई रोजगारी दिने काममा लागि परेको बताउनुभयो । शहीद परिवारका सदस्यहरुले भनेको सबै कुरा लागू नभए पनि सरकारले शहीद परिवारका लागि धेरै सहयोग गरेको बताउँदै अध्यक्ष राईले भन्नुभयो, ‘शहीद परिवारलाई स्थानीय, प्रदेश र संघीय सरकारले पनि शहीद परिवारलाई सहयोग गरिरहेको छ ।’
शेरधर राई नेतृत्वको प्रदेश १ सरकारले खोकु–छिन्ताङका १६ शहीद परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत अनुदान दिएको थियो । अहिलेसम्म शहीद परिवारका लागि ८ वटा घर निर्माण भइसेकेको छ । त्यहाँका जनता खान नपाएपछि मझियाहरुको ढुकुटीबाट टिप्पणी उठाएर अन्न जनतालाई बाँडिएको थियो । त्यसबिरुद्ध पञ्चायती शासक वर्गले यो काण्डमा विभिन्न व्यक्ति हरुमाथि डकैतीको मुद्दा चलाएको थियो ।
स्थानीय पञ्चहरुले प्रशासनसँग गुहार मागेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा अञ्चलाधीश, प्रहरी प्रशासनका प्रमुख र सेनाले यस क्षेत्रका नागरिकमाथि दमनको नीति लिएको थियो । अन्ततः २०३६ सालमा छिन्ताङ हत्याकाण्ड भएको थियो । जसमा १६ जनाको हत्याकाण्ड भएको थियो । हत्याकाण्डमा परी मारिएका १६ जनालाई २०७४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो ।












