७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका प्रमुख आर्थिक परिसूचक निराशाजनक, विप्रेषण आप्रवाह घट्यो



अ+ अ-

काठमाडौंः नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको पछिल्लो वित्तीय विवरण निकै नकारात्मक र निराशाजनक रहेको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) को विवरणमा देशको अर्थतन्त्रको लाइफलाइनका रुपमा रहेको विप्रेषण आप्रवाहमा ७.६ प्रतिशतले कमी आएको उल्लेख छ । गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाहमा कमी आई रु.२ खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो, बैंकले भनेको छ ।

तर समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर बचत दुबै खस्किए

समीक्षा अवधिमा चालु खाता रु.१ खर्ब ५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई रु.१ अर्ब ९२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई रु.५ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.७६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाखले घाटामा रहेको छ ।

विदेशी विनिमय सञ्चितिमा पनि ५.७ प्रतिशतले कमी

बैंकका अनुसार, २०७८ असार मसान्तमा रु.१३९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा रु.१३१९ अर्ब ३२ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई रु.११४५ अर्ब २९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई रु.१७४ अर्ब ३ करोड पुगेको छ ।

आयात ६३ प्रतिशतले बढ्यो, निर्यातमा सामान्य सुधार

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई रु.६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई रु.४७८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

बैंकका अनुसार, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२४ प्रतिशत छ ।

संघीय सरकारको खर्च रु.२३४ अर्ब ५२ करोड र राजस्व परिचालन रु.२५५ अर्ब ४ करोड रहेको जनाउँदै बैंकले विस्तृत मुद्राप्रदाय २.२ प्रतिशतले वृद्धि भएको र यो वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १७.९ प्रतिशतले बढेको बताएको छ ।