२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून



अ+ अ-

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् ।

आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि हुनेछ । निर्वाचन आयोगका सूचना अधिकृत शालिग्राम शर्मा पौडेलले सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको बताउनुभयो ।

उहाँले महिलाले चासो नदेखाएकाले मुख्य निर्वाचन अधिकृतमा नियुक्ति नभएको हुनसक्ने बताउनुभयो । “जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ”, उहाँले भन्नुभयो, “प्रदेशमा महिला न्यायाधीश हुनुहुन्थेन कि, भए पनि जान सक्दिन भन्नुभयो कि, बुझ्नुपर्छ ।”

पालिकाको निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृतमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विनिता भट्टराई, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पूजा खत्री, इलामको रोङ गाउँपालिकामा उषा श्रेष्ठ, सङ्खुवासभाको पाँचखपन नगरपालिकामा शशी राई, भोजपुरको आमचोक गाउँपालिकामा कल्पना राई, सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा कोपिला राई, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सङ्गीता न्यौपाने ढुङ्गेल, ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकामा कमला काफ्ले र ओखलढुङ्गाको सुनकोसी गाउँपालिकामा कविता फुँयाल रहनुभएको छ ।

आयोगका सूचना अधिकृत पौडेलले उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा भने बढी मात्रामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा महिला नै बढी नियुक्ति भएको बताउनुभयो ।

उहाँले दुर्गम स्थानमा जानका लागि महिला इच्छुक नभएका कारण पनि प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत कम भएको हुनसक्ने बताउनुभयो । प्रदेशमा ३३ लाख ४६ हजार ३८४ मतदाता रहेका छन् । त्यसमा १६ लाख ९९ हजार ८०० पुरुष र १६ लाख ४७ हजार ६१ महिला र २३ जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ ।