२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ वर्षसम्म भारतको होटलमा काम गरेर नेपाल फर्केका शालिकराम, अहिले बङ्गुरपालनबाट मनग्य आम्दानी लिँदै



अ+ अ-

देउखुरी । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जम्नु भएको छ ।

कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उहाँ घर फर्किनुभयो । घर फर्किएपछि घर खर्च चलाउन उहाँलाई धौधौ पर्यो। अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुुरपालन सुरु गर्नुभयो । उहाँले २१ वर्षसम्म भारतमा होटलमा काम गर्नुभयो । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य हुनुभयो । केही गर्नुपर्छ भन्ने मनसायले उहाँले घर छेउमा सानो खोर बनाउनुभयो ।

“दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरे”, उहाँले भन्नुभयो । कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन । यही व्यवसायलाई विस्तार गर्ने सोचले उहाँले १५ कट्ठा जग्गा वार्षिक रु १० हजारका दरले भाडामा लिई व्यवसाय बढाउनुभयो । रु दुई लाख ५० हजारको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय बढाएको घर्तीमगर बताउनुहुन्छ । “अहिले सात माउ, २१ पाठापाठी र दुई भाले बङ्गुर पालेको छु”, उहाँले भन्नुभयो ।

डिउरो र योर्कसायर जातका बङ्गुर उहाँले पाल्नुभएको छ । छोटो समयमा मनग्य आम्दनी गर्न सम्भव भएको घर्तीमगरको भनाइ छ । व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उहाँ उत्साहित हुनुभएको छ । सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि उहाँले व्यावसायिकरुपमा बङ्गुुरपालन थाल्नुभएको हो । घाँस र दाना खुवाएर घर्तीमगर बङ्गरपालनमा रमाउनुभएको छ ।

एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ । उहाँले १२ खोरमा फरक फरक उमेरका बङ्गुर पाल्नुभएको छ । “अब मासुका लागि छुट्टै खोर बनाउने सोचाइ बनाएको छु”, उहाँले भन्नुभयो,“फ्रेसहाउस आफँैले सञ्चालन गर्ने योजना छ ।” पैतालीस दिनको पाठापाठी रु पाँच हजारका दरले बिक्री हुने गरेको घर्तीमगरले बताउनुभयो ।

घोराही–६ स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख ५० हजार ऋण लिएर व्यावसाय सुरु गरेको उहाँले बिगत सुनाउनुभयो । बङ्गुर बिक्री गरेको आम्दानीबाट अर्को वर्ष ऋण चुक्ता गर्ने सोचाइ उहाँको छ । मकै, गहुँबाट घरमै उत्पादन गरेको दाना र घोराही बजारका पाँच होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक रु ३०० देखि रु एक हजार दिने गरेको घर्तीमगर बताउनुहुन्छ ।

दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बङ्गुुरलाई राम्रो मानिन्छ । यी बङ्गुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दानी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो । घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख कृष्ण बस्नेतले घोराहीमा ११२ बङ्गुुर फार्म दर्ता भएको बताउनुभयो । बङ्गुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्सान दिने गरिएको छ । बङ्गुरपालक किसानले वर्षमा रु १२ लाखदेखि रु १५ लाखसम्म आम्दानी गर्दैआएका छन् । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत ललितपुरको खुमलटारबाट १० भाले बङ्गुर ल्याएर वितरण गरेको उहाँले बताउनुभयो ।