२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सक्षम नेतृत्वको खोजीमा मतदाता



अ+ अ-

टीकापुर । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेर काम थालेपछि स्थानीयस्तरमा रहेका राजनीतिक दलले पनि आफ्ना गतिविधि बढाएका छन् ।

स्थानीयस्तरमा नेताहरु उम्मेदवारी दाबी गर्ने र राजनीतिक दल उम्मेदवार छनोटलगायत काममा जुटेका छन् । साथै राजनीतिक दलले मतदातालाई प्रभावित पार्न विभिन्न राजनीतिक कार्यक्रमसमेत गर्न थालेका छन् ।

टीकापुर नगरपालिका–६ की सङ्गीता विश्वकर्मालाई जनताको भावना बुझ्ने, पढेलेखेको, युवालाई साथमा लिएर हिँड्नसक्ने नेता पालिकाको नेतृत्वमा आउनुपर्छ भन्ने लाग्छ । “नेतृत्व शिक्षित हुनुपर्छ, शिक्षितसँगै युवा, महिला, बालबालिकाका भावना बुझ्ने, हामीलाई नगर विकासमा सहभागी गराउनसक्ने योजना भएको नेता चुन्ने योजनामा छौँ”, उहाँ भन्नुहुन्छ, “निर्वाचनमा उम्मेदवार धेरै हुन्छन् । यसपटक नगर विकासका लागि समय दिनसक्ने, सबैको हितमा काम गर्नसक्नेलाई जिताउनुपर्छ भनी हामी सचेत छौँ ।”

नेता व्यक्तिगत स्वार्थ त्यागेको विकासप्रेमी हुनुपर्छ । विकासप्रेमीसँगै नागरिकको भावना सम्बोधन गर्नसक्ने, सबैलाई मिलाएर लैजाने खालको नेता होस् भन्ने सबैको चाहना हुन्छ । नेता नागरिकका सबैखाले अपेक्षा पूरा गर्नसक्ने क्षमताको होस् भन्ने चाहना नागरिकले राखेका छन् । टीकापुर–७ सत्तीकी उषा ढुङ्गानालाई अब आउने नेतृत्व लैङ्गिक संवेदनशीलता बुझेको, सामाजिक कुरीति अन्त गर्नसक्ने र काम गर्ने जोश जाँगर भएको शिक्षित युवा होस् भन्ने लाग्छ । “हाम्रो समाजमा लैङ्गिक समानता नभएका कारण महिला सदियौँदेखि हिंसाबाट पीडित छन्”, ढुङ्गाना भन्नुहुन्छ, “नेतृत्वमा बस्ने लैङ्गिक संवेदनशीता बुझेको हुन आवश्यक छ ।”

नागरिकका असीमित चाहनालाई क्रमशः पूरा गर्नु नेतृत्वको दायित्व भएकाले नेतृत्व छान्दा चुक्न नहुनेमा युवा सचेत छन् । कुरा मात्र गर्नेभन्दा साना साना समस्या र माग पूरा गर्नसक्ने नेता छान्नुपर्ने टीकापुरका सुशील ओझा बताउनुहुन्छ । “कैलालीको समस्या फोहोर व्यवस्थापन, छाडा पशु चौपाया, ढल निकास, सडक बनाउनुपर्नेजस्ता समस्या छन्”, उहाँले भन्नुभयो ।

पालिकाको नेतृत्वमा बसेर निर्णय लिनुपर्ने व्यक्ति कम्तीमा स्नातह तह उत्तीर्ण हुनुपर्ने टीकापुर–५ का रमेश चौधरी बताउनुहुन्छ । “पढेको, अनुभव भएको नेताले पो हिम्मतका साथ काम गर्न सक्छ”, उहाँ भन्नुहुन्छ, “नेतृत्व छान्दा गल्ती भएमा पाँच वर्ष पछुताउनु पर्ने हुन्छ । यसपटक हामी सचेत छौँ ।”

कैलालीकै अर्जुनकुमार वन पनि विकास गर्न सक्ने, हाम्रो नभई राम्रो क्षमता भएको, पढे लेखेको, युवाका भावना समेट्न सक्ने नेतृत्व आवश्यक रहेको बताउनुहुन्छ । “आफन्त, नातेदार हो भनेर सक्षम मानिस छोडेर आफ्नालाई जिताउँदा पछुताउनुबाहेक केही हात लाग्दैन”, उहाँ भन्नुहुन्छ, “पालिकाको नेतृत्वमा जाने सबैको अभिभावक हो । सबैको अभिभावक असल, क्षमतावान्, कुशल हुनुपर्छ । यसका साथै सबै क्षेत्रलाई साथमा लिएर विकासका कार्यमा खट्ने हुनुपर्छ ।”

कैलालीमा १३ स्थानीय तह छन् । यसपटकको निर्वाचनका लागि कैलालीमा ७२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कूल मतदाता सङ्ख्या पाँच लाख २७ हजार ५४८ पुगेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा मतदाता सङ्ख्या चार लाख ६० हजार ५७८ थियो ।