२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट हराएर अमेरिका पुगेका पाँच प्राचीन मूर्ति फिर्ता



अ+ अ-

काठमाडौँ । नेपालबाट हराएर अमेरिकाको विभिन्न स्थानमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ ।

पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वरअर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति रहेको छ ।

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

प्रस्तरको नागराजको मूर्ति १२ औँ वा १३ औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरुपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो ।

प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो । अमेरिकामा यी सामग्री सङ्ग्रह गरेका निकाय एवं कम्पनीले पनि सहयोग गरेको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।

फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा २० कको प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिएक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फिर्ता भएका मूर्तिको संरक्षण हुने प्रतिबद्धता जनाउनुहुँदै ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाको संरक्षणमा सरोकार भएका निकायले विशेष काम गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका पुगेका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने नीति रहेको सुनाउनुभयो ।