काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको फैसलाप्रति नेपाली कांग्रेसले स्वागत गरेको छ ।
पार्टी सभापति शेर बहादुर देउवाले सोमबार विज्ञप्ती जारी गर्दै कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको स्वागत गरेको बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ,
सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु । यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ ।
लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु ।
देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।












