६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता



अ+ अ-

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले हाइटी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै ३–० को अग्रता बनाएको छ।

शुक्रबार बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले पूर्ण रूपमा दबाब सिर्जना गर्दै पहिलो ४५ मिनेटमै खेल आफ्नो पक्षमा पारेको हो।

ब्राजिलका लागि म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथ्यु कुन्हा चम्किएका छन्। उनले खेलको २३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

हाइटीका रक्षापङ्क्तिले बल क्लियर गर्न नसक्दा कुन्हाको घुँडामा लागेर बलले जाली चुमेको थियो। पहिलो गोल केही भाग्यशाली देखिए पनि ३६औँ मिनेटमा कुन्हाले गरेको दोस्रो गोल भने निकै दर्शनीय थियो। भिनिसियस जुनियरको उत्कृष्ट पासलाई नियन्त्रणमा लिँदै उनले बायाँ खुट्टाले उत्कृष्ट प्रहार गर्दै बललाई पोस्टको माथिल्लो जालीमा प्रहार गरे।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत पहिलो र टोलीका लागि तेस्रो गोल थपे।

खेलको दौरान ब्राजिलले एउटा झट्का पनि व्यहोर्नुपरेको छ। टोलीका प्रभावशाली विंगर राफिन्हा खेलको ४०औँ मिनेटमा घाइते हुँदै मैदानबाट बाहिरिएका छन्।