काठमाडौं । रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्री पदमा सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्वादेवी भण्डारीले उहाँलाई आफ्नो निवास शीतल निवासमा सपथग्रहण गराउनुभएको हो ।
आजै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई मन्त्री पदमा नियुक्त गरी गृहमन्त्रालयको कार्यभार तोक्नु भएको थियो ।
राष्ट्रपति कार्यलयले जारी गरेका विज्ञप्ती अनुसार संविधानको धारा ७८ को उपधाराा १ अनुसार थापालाई मन्त्री पदमा नियुक्त गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उहाँलाई आज राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।
राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेका तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले सुचनापत्र जारी गर्दै जानकारी दिएको थियो ।












