काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । यो सँगै जनकपुरले लगातार तेस्रो खेल जितेको छ भने पोखराको यो दोस्रो हार हो ।
त्रिवि क्रिकेट मैदानमा पोखराले जितको लागि दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा पुरा गर्यो । जनकपुरको जितमा लाहिरु मालिन्थाले सर्वाधिक ४५ रन बनाए । जेम्स नीशाम ४० रन बनाउदै नटआउट रहे भने आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए ।
बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १/१ विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाएका थिए । माइकल लिस्कले २५ रन जोड्दा एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाए । कुशल भुर्तेलले ६ रन बनाउदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए ।
बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिँदा जेम्स नीशमले २ विकेट तथा किशोर महतो र मोहम्मद मोसिनले १/१ विकेट लिए ।











