काठमाडौँ : महिला टी–२० विश्वकप क्रिकेट ग्लोबल क्वालिफायरमा आज बिहान नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । आजको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितात्मक रुपमा नेपाल र स्कटल्यान्ड एकआपसमा पहिलो पटक खेल्न लागेका हुन् ।
यद्यपी सुपर सिक्समा पुग्न नेपाललाई बलियो टिम स्कटल्यान्डमाथि जित हासिल गरेर मात्रले पुग्दैन । नेपालले ठूलो अन्तरले जित्नु पर्ने चुनौती छ ।
जिम्बावेमाथि शनिबार ६ विकेटको विजय हात पारेपछि नेपालको सुपर सिक्समा पुग्ने झिनो आशा पलाएको थियो । पूजा महतोले अविजित ५२ रन बनाएपछि नेपालले जिम्बावेसँगको खेलमा १ सय ३० रनको विजय लक्ष्य पछ्याएको थियो ।
यसअघि, नेपाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यी दुई खेलको नतिजाले नेपाली महिला टोली दबाबमा परेको हो ।
समूह बी मा रहेको स्कटल्यान्ड भने आजको खेल जिते सुपर सिक्समा पुग्नेछ ।
समूह ‘बी’ को अर्को टिम आयरल्यान्डले सबै तीन खेल जितेर सुपर सिक्समा पुगिसकेको छ । स्कटल्यान्ड र थाइल्यान्ड तीन खेलमा समान दुई जित हात पारी क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । नेपालको तीन खेलबाट दुई अंक मात्र छ । जिम्बावे सबै खेल हारेर पुछारमा छ ।
सोमबार नै यस समूहको अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्यान्डका बीच प्रतिस्पर्धा हुनेछ । नेपालले स्कटल्यान्डलाई र नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेको खण्डमा नेपालसहित स्कटल्यान्ड र थाइल्यान्डको समान चार अंक हुनेछ र यस्तोमा राम्रो रन रेट भएको दुई टोली सुपर सिक्समा पुग्नेछ ।












