काठमाडौं । आसन्न निर्वाचनको अब महिना दिनमात्र बाँकी छ । त्यसैले मत आफ्ना पक्षमा पार्न विभिन्न कसरत जारी छन् । दलहरु प्रचारप्रसारका लागि आफ्ना निर्वाचन क्षेत्रमा छन् र आफूले प्राप्त गर्ने मतका आआफ्ना आँकडा र अनुमानहरुको विश्लेषण गरिरहेका छन् ।
यस निर्वाचनको एउटा फरक विशेषता के छ भने यसपटक दलहरुका हिजोका निर्वाचनमा सुनिने गरेको यो गठबन्धन भन्ने शब्द भने कम सुनिएको छ । नत्र निर्वाचन नजिकिँदै गरेको यो समयमा पहिले पहिले कुन दल कुनसँग भन्ने गठबन्धनका समाचारहरु बग्रेल्ती आउने गर्दथ्यो ।
तर अहिले भने आजका दिनसम्ममा कुनै पनि दलले आधिकारिक रुपमा गठबन्धन गरेको भन्ने सुनिएको छैन । एकाध त छन् तर ती राष्ट्रिय राजनीतिका लागि फरक पार्ने खालको अंक गणित नै ल्याउने खालका भने छैनन् ।
आज भने एउटा फरक समाचार केही मिडियामा छापिएको देखिएको छ कि तीन दलका नेता केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड भेटेर चुनावी रणनीति बनाए रे भन्ने । यीमध्ये प्रचण्ड र ओली त चुनावी मैदानमै छन् भने देउवा चुनावमा उठेका छैनन् । तर पनि उनीहरुका बीचमा आगामी निर्वाचनका बारेमा कुराकानी भए र त्यसमा एक आपसमा हुनसक्ने गठबन्धन र एकले अर्कालाई सघाउने विषयमा पनि कुराकानी भएको समाचार स्रोतहरुले दाबी गरिरहेका छन् ।
नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहार प्रचणडबीच भेटवार्ता भएको समाचारलाई केही अनलाइन मिडियाले प्राथमिकता साथ राखेका छन् । उनीहरुबीच आइतबार भेट र कुराकानी भएको स्रोतको दाबी छ ।
यो भेटमा मुख्यगरी केपी शर्मा ओलीले देउवा र प्रचण्डसँग सहयोग मागेको बताइएको छ । स्रोतका अनुसार ओलीले आफ्नै निर्वाचन क्षेत्र झापा ५ मा सहयोग गर्न आग्रह गरेका थिए ।
ओलीले खासगरी झापामा आफूलाई के कसरी हुन्छ सहयोग गर्नुपर्यो भनेर देउवा र प्रचण्डसँग खुलस्त रुपमा कुराकानी गरेका स्रोतले बतायो । झापामा ओली आफैं उम्मेदवार छन् भने दाङमा उनका विश्वासपात्र महासचिव शंकर पोखरेल उम्मेदवार छन् । ओलीले दाङमा पनि सहकार्यका लागि आग्रह गरेको बताइएको छ ।
एक अर्काे समाचार स्रोत भन्छ त्यस लगत्तै यता ओली र कांग्रेस सभापति गगन थापा पनि भेटेका छन् । आइतबार साँझ उनीहरुबीच भेटघाट र कुराकानी भएको र त्यस अवसरमा ओलीलाई झाप ५ मा र यता गगन थापालाई सर्लाही ४ मा सघाउने विषयमा कुराकानी भएको बताइएको छ ।
तर सो समाचारपछि पार्टीभित्रैबाट गगनको विरोध भएको बताइएको छ । ओली अहिले निकै विवादित नेता रहेका तथा कांग्रेसले यसअघि नै कुनै पनि दलसँग र अझ विशेष रुपमा भन्दा एमालेसँग सहकार्य नै नगर्ने भन्ने सिद्धान्तका बारेमा अडान राख्दै आएकाले कुनै पनि क्षेत्रका लागि एमालेसँग सहकार्य गर्नै नहुने भनेर कांग्रेसमा विरोध भएको बताइएको छ ।











