काठमाडौँ। क्यारेबियन टापु राष्ट्र क्युबाले गम्भीर ऊर्जा संकटको सामना गरिरहेका बेला रुसले त्यहाँ तेल आपूर्ति जारी राख्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ ।
यसअघि रुसी यातायात मन्त्रालयले रुसी ट्याङ्करमार्फत लगिएको कच्चा तेलको मानवीय ढुवानी क्युबा पुगेको जानकारी दिएको थियो । पेस्कोभले मस्को क्युबाको वर्तमान कठिनाइप्रति उदासीन रहन नसक्ने र यस विषयमा निरन्तर काम गरिरहने बताउनु भयो ।
वर्तमान परिस्थितिमा क्युबालाई आवश्यक सहयोग उपलब्ध गराउनु रुसले आफ्नो कर्तव्य ठानेको छ र पछिल्लो ढुवानी त्यहाँ पुगेकोमा रुस खुशी रहेको उहाँले बताउनु भयो ।
रुसी यातायात मन्त्रालयले एनातोली कोलोदकिन नामक ट्याङ्करले मानवीय सहायताका रूपमा करिव १ लाख टन कच्चा तेल क्युबा पु¥याएको जनाएको छ ।
उक्त जहाज हाल माटानजास बन्दरगाहमा सामान अनलोड गर्ने प्रतीक्षामा छ । यसअघि, द न्यूयोर्क टाइम्सले महिनौँको तेल नाकाबन्दीपछि संयुक्त राज्य कोस्ट गार्डले रुसी स्वामित्वको कच्चा तेलको ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको रिपोर्ट गरेको थियो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल












