काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पती छानविन आयोगलाई आफ्नो सम्पती विवरण बुझाएर सहयोग गर्ने बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आफू र पार्टीका अन्य नेताहरुले समेत आफ्नो सम्पती विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताउनुभएको हो । यद्यपि आयोग गठन प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै उहाँले सरकारलाई सचेत समेत गराउनु भयो ।
उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको भन्दै संविधान र कानूनअनुसार सरकारले गर्ने सबै प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताउनु भयो । उहाँले सार्वजनिक पद धारण गरेका नेता र पदाधिकारीहरुको सम्पतीसम्बन्धीको विषय छिटो टुंगियोस् भन्ने नेपाली काँग्रेसको चाहाना रहेको पनि बताउनु भयो ।
उहाँले केही न्यायाधीश र राजनीतिक नेताहरूले सम्पती विवरण नबुझाउने अभिव्यक्ति दिएको दिएको टिप्पणी गर्दै त्यसमा काँग्रेसको कुनै टिप्पणी नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘गत भदौको नवयुवाहरुको आन्दोलनको मुख्य विषय कुशासनको अन्त्य र सुशासनको प्रारम्भ भन्ने नै थियो । अबको बेही वर्षसम्मको लागि नेपालको मुख्य विषयवस्तु पनि यही नै हो । भर्खरै निर्वाचन सम्पन्न भएको छ । यसबाट नयाँ सरकार आएको छ । सरकारले समेत भ्रष्टाचार नियन्त्रण र सुशासन कायमलाई सबैभन्दा महत्वपूर्ण विषय बनाएको छ ।
मुलुकमा सुशासन स्थापना गर्ने कुरामा सरकारले गर्ने संविधानसम्मत र कानूनसम्मत सबै प्रयसहरुमा हाम्रो शतप्रतिशत सहयोग रहन्छ । हामीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । विदेशका संविधानहरुमा समेत भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा सशक्त आयोगहरु बनेको पाइन्छ ।
आयोगसँग असिमित तरिकाहरु पनि छन् । तर पनि हरेक पटकको राजनीतिक आन्दोलन र बहसको मुख्य विषय अख्तियार बन्ने गरेको छ । आफ्नो पार्टीको प्रतिज्ञापत्रमा एउटा प्रतिवद्धता व्यक्त गरेका थियौँ, हाम्रो पार्टीको सरकार बन्छ भन्ने सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पती छानविन गर्न शक्तिशाली आयोग बनाउँछौँ भनेका थियौँ । तर अहिले रास्वपाको सरकार छ । उहाँहरुले यस्तै एउटा आयोग बनाउनु भएको छ । यस विषयमा केही बहसहरु पनि भइरहेका छन् ।
केही न्यायमूर्ति र राष्ट्रिय राजनीतिमा संलग्न नेताहरुले हामी सम्पती विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ । त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन । तर नेपाली काँग्रेसको तर्फबाट म पनि र अन्य सबै साथिहरुले पनि आफ्नो सम्पती विवरण बुझाउनुहुन्छ । हामी यो प्रक्रियमा टुंगिनुपर्छ भन्ने ठान्छौँ । तर आयोग जसरी गठन भएको छ र जुन तरिकाले सरकारको कार्यदेशमा यो अगाडि बढिरहेको छ । भोलि यो आयोगको स्वच्छतामाथि प्रश्न नआओस्, यसमा यथेष्ट ध्यान पुगेको छैन, पुगोस् ।’
बालेन्द्र साह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । –न्युज एजेन्सी नेपाल












