काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसदमा उपस्थित हुन नसक्ने बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतका केही भू–भाग मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि उत्पन्न विवादबारे विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसदमा आएर स्पष्ट पार्नुपर्ने अडान राखेका थिए ।
तर सभापति लामिछानेले प्रधानमन्त्री तत्काल संसदमा उपस्थित हुन नसक्ने जानकारी दिनुभएको हो । उहाँका अनुसार उक्त विषयमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिनेछन् । परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझे आफूले समेत आवश्यक परेमा जवाफ दिने लामिछानेको भनाइ थियो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गम्भीर विषय भएको भन्दै संसदमै आएर स्पष्ट पार्नुपर्ने पक्षमा विपक्षी दलहरू अडिग रहेको बताउनुभयो ।
उहाँका अनुसार विपक्षी दलहरूले संसद अवरोध गर्ने चाहना नभए पनि प्रधानमन्त्रीको अभिव्यक्तिको औपचारिक जवाफ आवश्यक रहेको बताएका थिए । “यदि उहाँको त्यस्तो कुनै नियत होइन भने पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदबाट स्पष्ट पारिनुपर्छ,” महरले भन्नुभयो ।
उहाँले थप भन्नुभयो, “प्रधानमन्त्रीले कुनै पनि विदेशी भूमिबारे संसदमा बोलेको विषय संवेदनशील भएकाले त्यसको रेकर्ड सच्याउनुपर्ने वा स्पष्ट पारिनुपर्ने माग राखिएको हो ।”
बैठकमा सभापति लामिछानेले आफ्नो हालैको भारत भ्रमणबारे पनि जानकारी गराउनुभएको थियो ।
तर अन्ततः प्रधानमन्त्री स्वयंले संसदमा आएर जवाफ दिनुपर्ने मागमा सहमति नजुटेपछि बैठक निष्कर्षविहीन बनेको जनाइएको छ ।












