३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम



अ+ अ-

नुवाकोट।  नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा समूह प्रस्तुतितर्फ किस्पाङ बहुप्राविधिक शिक्षालय, काहुले प्रथम भएको छ ।

‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ अन्तर्गत आज वडा नं ३ स्थित ऐँसेलु भूमे माध्यमिक विद्यालय, काहुलेमा आयोजित प्रतियोगितामा ‘नानी त रैछौँ…’ बोलको समूह नृत्यमा सो शिक्षालयका विद्यार्थीले प्रथम स्थान हासिल गरेका हुन् । समूह नृत्यमा ‘म्हेन्दोमाया…’ बोलको गीतमा काहुलेकै ऐँसेलु भूमे माध्यमिक विद्यालय द्वितीय र तामाङसेलो नृत्यमा पञ्चलिङ्गलेस्थित पञ्चलिङ्गे माध्यमिक विद्यालय तृतीय भएको छ ।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष प्रकाश तामाङ डिमडिङ, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडा, निर्णायक समूहका संयोजक नृत्य निर्देशक याम गुरुङसहितले क्रमशः रु नौ हजार, रु सात हजार र रु पाँच हजार राशिसहित पुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी, एकल नृत्यतर्फ ‘यति राम्रो कस्को छोरा…’ बोलमा ऐँसेलु भूमे माविका लुइस तामाङ, ‘लौन न नि भैया…’ बोलमा साल्मे माविका पवित्र विक र ‘मेरो भेना इञ्जिनियर लाहुरे…’ बोलमा होली भिजन पब्लिक बोर्डिक स्कुलका रवि तामाङले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभयो । एकलतर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई क्रमशः रु पाँच हजार, रु चार हजार र रु तीन हजार नगदसहित पुरस्कार प्रदान गरियो ।

सामुदायिक आठ र संस्थागत चार गरी कुल १३ विद्यालयका विद्यार्थी सहभागी प्रगियोगितामा नृत्य निर्देशक गुरुङ संयोजक तथा कलाकारहरू दिपेश माझी र चन्द्रा सारु मगर सदस्य रहेको निर्णायक समितिले प्रस्तुति, वेषभूषा, ताल, हाउभाउ, स्टेज कभर आदिमा आधारित भई मूल्याङ्कन गरेको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले प्रारम्भिक बालविकासदेखि माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा दिने र हरेक विधामा प्रतिभाहरूको पहिचान, प्रोत्साहन र राष्ट्रियकरणका लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खतिवडाले सामाजिक चेतनाको विस्तारका साथै विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजगार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण टेवा दिने बताउनुभयो । कार्यक्रममा गायक तथा सङ्गीतकार वैकुण्ठ महतका साथै विभिन्न विद्यालयका शिक्षकले पनि प्रस्तुति गर्नुभएको थियो ।

‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’अन्तर्गत बिहीबार वक्तृत्वकला र चित्रकला कार्यक्रम आयोजना गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरोज अधिकारीले जानकारी दिनुभयो । रासस