काठमाडौँ । निम्बलनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को निकास प्रक्रिया लम्बिने देखिएको छ । साढे तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बित नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानले निर्धारित तालिकाअनुसार काठमाडौंमा असोज ३ र ४ मा साधारणसभामार्फत नयाँ नेतृत्व पाउँदै थियो ।

क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ साल वैशाखदेखि क्यानलाई निलम्बन गरेको छ । नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउने क्रममा आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत क्यानको निर्वाचन प्रकृया अगाडि बढाएको थियो, जसअनुसार अर्कोशनिबार क्यानको निर्वाचन हुने कार्यक्रम थियो ।
स्वतन्त्र समितिमा तत्कालीन क्यानबाट ठाकुरप्रताप थापा, राष्ट्रिय खेलुकद परिषद् र खेलकुद मन्त्रालयको तर्फबाट एलबी क्षेत्री प्रतिनिधि रहेका थिए । अन्य तीन सदस्य आईसीसीका थिए । स्वतन्त्र समितिले बुधबार एक राष्ट्रिय दैनिकमा असोज ३ र ४ मा साधारण सभामार्फत निर्वाचन गर्ने सूचना प्रकासित गरेको थियो । त्यसमा परिषद्ले ध्यानाकर्षण भएको जनाएपछि क्यानको निर्वाचन प्रक्रिया अन्योल बनेको छ ।
‘सूचना निकालेपछि परिषद्ले छलफलमा बोलाएको थियो । राखेपले मुख्य गरी तीन विषयमा असहमति राखेको छ । त्यसमा परिषद्को सहमति नलिई निर्वाचन गर्न सक्नु हुन्न, निर्वाचन समिति राखपेको हुनुपर्छ र निर्वाचनका लागि २१ दिने सूचना चाहिने भनेको छ,’ स्वतन्त्र समितिका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठले भने, ‘निर्वाचनका लागि सहमति लिन समस्या छैन । प्रदेश निर्वाचन सकिएको ३० दिनभित्र केन्द्रको सक्नुपर्छ भन्ने व्यवस्था छ । तर निर्वाचन समिति परिषद्को हुनेमा ठाडै अस्विकार छ, त्यो विधानविपरीत हुन्छ । विधानमा ७ दिने सूचना निकालेर साधारणसभा गर्न सकिने स्पष्ट छ । २१ दिने गर्दा दसैं बीचमा पर्छ ।’
उनले पछिल्लो स्थितिबारे आईसीसीलाई रिपोर्टिङ गएको बताए । अक्टोबर १३ मा हुने आईसीसी बैठकलक्षित गर्दै जतिसक्दो क्यानको निर्वाचन गर्ने पक्षमा स्वतन्त्र समिति रहेको श्रेष्ठको भनाइ थियो । उनले साधारणसभा र निर्वाचनका लागि परिषद्को स्वीकृति नलिइएको प्रस्ट्याए । ‘जिल्ला र प्रदेशको निर्वाचनलाई पनि स्वीकृति लिनुपर्थ्यो भन्ने दाबी अहिले आएर आएको छ । ४ महिनामा केही भनिएन, अहिले केन्द्रको निर्वाचनको विषय आएको छ,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘संक्रमणकालीन अवस्था हो अहिले । नियमित अवस्था हो भने राखेपले नै निर्वाचन समिति तोक्ने हो ।’
क्यानको निर्वाचन भने पनि आफूहरूसँग कुनै सर–सल्लाह नगरेको परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बताए । ‘केहीअघि आईसीसीले मसँग कुरा गरेको थियो । स्वतन्त्र समिति भनेको जे पायो त्यही गर्न होइन । त्यो समितिको सीमितता छ । कुनै पनि खेलकुद संघको राष्ट्रिय अधिवेशन गर्दा परिषद्बाट स्वीकृति लिनुपर्छ । त्यो लिइएको छैन । दोस्रो भनेको निर्वाचन समिति परिषदले बनाइदिनुपर्छ । यो बनाउनेक्रममा स्वतन्त्र समितिलाई राखिदिउँला म,’ सिलवालले आक्रोश पोखे, ‘खेलकुदको सर्वोच्च निकायबिना कसरी चुनाव हुन्छ ? स्वतन्त्र समितिले गरेर मात्र हुँदैन । पत्रिकामा सूचना छापेपछि हामीले थाहा पाउने हो र ?’
उनले अगाडि भने, ‘अहिलेको स्थिति लिएर आईसीसीले म्यासेज पठाएको छ, फुर्सद हुनेबित्तिकै सम्पर्क गर्नेछु । स्वतन्त्र समिति भनेर जे मनलाग्यो त्यही गर्न पाइँदैन । त्यो उसको धर्म भएन । हामीले स्वतन्त्र समितिका वकिल बोलाएर यस विषयमा जानकारी गराएका छौं । परिषद्ले स्वीकृति नदिई क्यान निर्वाचनले कसरी मान्यता पाउँछ र । उनीहरूले प्रस्तावित गरेपछि हामीले स्वीकृति दिने हो, नत्र त यहाँ अराजकताको केन्द्र हुन्छ । १ सय ५६ संघ छन्, जसले जे पनि गर्ने हो भने खेलकुद परिषद् नै चाहिँदैन ।’
जिल्ला अध्यक्षहरू निर्वाचन रोक्नु क्यानको हितमा नहुने बताउँछन् । ‘निर्वाचन हुने कुराले जिल्लामा खुसी छाएको थियो । तर नयाँ स्थितिले फेरि अन्योल बनाएको छ,’ महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष रोशन सिंहले भने । प्रकृयाको बाधक कोही हुन नहुने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंया बताउँछन् ।
लामो समयको प्रकृयागत प्रयासपछि क्यानको निलम्बन फुकुवा गर्ने स्थितिमा अगाडि बढ्दा निर्वाचन रोकिए त्यसमा आफ्नो विरोध हुने उनले बताए । ‘क्रिकेटको दीर्घकालीन समस्याको निकास निकाल्ने समयमा सबै पक्षले सकारात्मक योगदान गर्नुपर्नेमा पुनः विवादित क्रियाकलाप गरेर क्रिकेट निकासको बाटो नरोक्न हामी सबैपक्षलाई सचेत गर्दछौं,’ मजगैंयाले भने ।
स्वतन्त्र समितिका कानुनी सल्लाहकार श्रेष्ठ तोकिएको समयमै क्यान निर्वाचन हुनसक्ने दाबी गर्छन् । ‘बढीमा एक सातासम्म क्यान निर्वाचन सर्नसक्छ । त्यसपछि भयो भने दसैं पर्छ । अझ पछाडि धकेलियो भने अक्टोबर १३ लाई लक्षित समय र प्रदेश निर्वाचनको एक महिनापछि साधारणसभाको समय पनि गुमाउँछौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।












