२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्तले बेचेको जग्गा बदर गर्ने



अ+ अ-

काठमाडौं । लक्ष्मीनारायण मठ, मटिहानीका मान महन्त जगन्नाथ दास वैष्णवले रुपन्देहीमा बिक्री गरेको जमिन गुठी संस्थानले बदर गर्ने भएको छ। गुठीको जग्गा बिक्री गरेको सार्वजनिक भएपछि छानबिन गर्न नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत अजित कुँवरको संयोजकत्वमा छानबिन समिति बनेको थियो।

समितिले दिएको प्रतिवेदन अनुसार संस्थानले बेचिएको जग्गा बदर गरेर फिर्ता गर्ने तयारी गरेको हो। उक्त समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धु्रवप्रसाद नेपाल र मालपोत अधिकृत केशब भट्टराई थिए।

गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरीले भैरहवामा जगन्नाथले बिक्री गरेको जग्गा बदर गर्ने तयारी गरेको जानकारी दिए। ‘छानबिन गर्दा भैरहवामा गुठीको जग्गा महन्तले बिक्री गरेको देखियो,’ चौधरीले भने, ‘उक्त बिक्री बदर गर्छौं।’

सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने महन्तलाई कारबाहीका लागि पनि संस्थानको बोर्ड बैठकमा प्रस्ताव लैजाने तयारी छ। ‘निलम्बनमा परेका महन्तलाई कारबाहीको प्रस्ताव बोर्ड बैठकमा लैजान्छौं,’ चौधरीले सोमबार नागरिकसँग भने, ‘कुन तहको कारबाही गर्ने भन्ने निर्णय संस्थान सञ्चालक समितिले गर्छ।’
गुठी संस्थान ऐन अन्तर्गत गुठीको जग्गा बिक्री गरेको खण्डमा ऐन अन्तर्गत बदर गर्न सक्ने व्यवस्था भएकाले उक्त जग्गा बदर गर्न सक्ने छानबिन समितिको सुझाव अनुसार बदर गर्न लागिएको हो। सरकारले गठन गरेको सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले पनि जग्गा फिर्ता प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

जगन्नाथले आफ्नो स्वआर्जनको व्यक्तिगत जग्गा भएकाले बिक्री गरेको दाबी गर्दै आएका थिए। तर, छानबिनमा गुरु आर्जनबाट जग्गा प्राप्त गरेको तथ्य फेला पारेको छ। गुरु आर्जनको जमिन बेचबिखन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै जगन्नाथले कानुनको बर्खिलाप गई जमिन बिक्री गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

जग्गा प्रशासन निर्देशिका २०५८ को दफा १४५ मा गुरु आर्जनको जग्गालाई बन्धक राख्न, बिक्री, दान, बकस, इत्यादि गर्ने गरी लिखित पास नपाउने व्यवस्था छ। जगन्नाथले गुरुबाट आफ्नो नाममा ल्याएका हुन्। जगन्नाथले गुरु कौशुलकिशोरदास वैष्णवलाई बाबु बनाएर नागरिकता निकालेका छन्।

बाबुको मृत्युपछि जग्गा जमिन स्वतः छोराका नाममा जाने भएकाले जगन्नाथले किशोरलाई बाबु बनाएर नागरिकता लिएको बताएका छन्।

जगन्नाथमाथि विभिन्न जिल्लामा गुठीको जग्गा बिक्री गरेको आरोप लागेको छ। रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं ६ मा रहेको जमिन बिक्री गरेको प्रमाण भेटिएपछि कारबाही प्रक्रिया अघि बढेको हो। उक्त जमिनको बिक्री मूल्य ६२ रुपैयाँ देखाइएको छ। सिद्धार्थनगर–६, भैयाटोलमा रहेको लक्ष्मीनारायण मठको कित्ता नम्बर १६५ को तीन कट्ठा पाँच धुर जग्गा ६१ लाख रुपैयाँमा बिक्री गरेका थिए। उक्त जमिन सिद्धार्थनगर–१० का उदयमान पाण्डे र सञ्जयप्रसाद पाण्डेले खरिद गरेका छन्। लालपुर्जामा बिक्री मूल्य ६१ लाख देखाए पनि उक्त जमिनको मूल्य करिब तीन करोड रुपैयाँ रहेको स्थानीयले बताएका थिए।

जगन्नाथले गुठी संस्थान अन्तर्गत अन्य मठ, मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको सार्वजनिक भएपछि अन्य स्थानको बारे पनि छानबिन भइरहेको संस्थानले जनाएको छ। महन्तले रुपन्देही, धनुषा जिल्लामा लक्ष्मी नारायण, रामजानकीलगायत मन्दिरको करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेको आरोप छ।

मालपोत, नापीका कर्मचारी, गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा मन्दिरका गुरु कौशलकिशोरको मृत्युपछि जगन्नाथले मठ–मन्दिरले प्रयोग गर्दै आएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन्। यी महन्तलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, पर्साका मठ–मन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी छ।

अहिले जगन्नाथ निलम्बित छन्। गुठी संस्थानले जगन्नाथको नाममा रहेको सम्पूर्ण जग्गा बिक्री गर्न संस्थानले रोक लगाएको छ। जगन्नाथले गुठी माताहतका सरकारी जग्गा बिक्री गरेर दुरुपयोग गरेको आरोप लागेपछि थप जग्गा बिक्री गर्न नपाऊन् भनेर उनको नाममा विभिन्न जिल्लामा रहेको जमिन बिक्री गर्न रोक्का गरेको हो। संस्थानले १० जिल्लाका मालपोत तथा भूमिसुधार कार्यालयलाई पत्राचार गरी उनको नाममा भएको सबै जमिन बिक्री गर्न रोक लगाएको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।