
विराटनगर । सामाजिक संस्थाको जग्गा बिक्री गर्ने दुई नेतालाई नेकपा बेलबारी कमिटीले पार्टीबाट निलम्बन गरेको छ । पूर्वसभासद तथा तत्कालीन नेकपा एमालेको केन्द्रीय अनुशासन समिति सदस्य हर्कमान तामाङ र जिल्ला कमिटी मोरङका पूर्वसदस्य शिव बराल दुई महिनालाई निलम्बनमा परेका हुन् ।
बराल तत्कालीन बेलबारी गाविसमा दुई कार्यकाल अध्यक्ष भएका थिए । संगठित सदस्य रहेका उनीहरूलाई बुधबार निलम्बन गरिएको पार्टीले जनाएको छ ।
तामाङ र बरालले बेलबारी–२ मा दुई दशकअघि चार अमेरिकी नागरिकले अनाथ बालबालिकाको संरक्षण र पालनपोषणका लागि स्थापना गरेको सहारा बालग्रामको १ विघा ८ कठ्ठा ३ धुर जमिन व्यवसायी डम्बरबहादुर तामाङका नाममा २०७५ मंसिर ११ गते नामसारी गरेर करिब ७० लाख रुपैयाँ लिएको सार्वजनिक भएको थियो । तामाङ बालग्रामका संस्थापक अध्यक्ष र बराल हालका अध्यक्ष हुन् ।
प्रकरणपछि नेकपा बेलबारी नगर कमिटीले सचिव रविन थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले तामाङ र बरालले सार्वजनिक संस्थाको जमिन नियतवश बिक्री गरेको ठहर गरी कारबाही माग गर्दै प्रतिवेदन बुझाएको थियो । दुवै बेलबारी नगरका मेयर ज्ञानेन्द्र सुवेदीका सल्लाहकार पनि हुन् ।
नगर कमिटी अध्यक्ष परशुराम सुवेदी र सचिव थापाले विज्ञप्ति जारी गर्दै सार्वजनिक संस्थाको जग्गा नियतवश बिक्री गरेको पुष्टि भएकाले तामाङ र बराललाई दुई महिनाका लागि निलम्बन गरिएको जनाएका छन् ।
अमेरिकाको भर्जिनिया राज्यका डयानी अनी, एलिसा हाम्फ्रिन, डा. वाल्ट ज्यामी हर्बर र टेनिसीले बेलबारी–२ मा संस्था स्थापना गरेर सञ्चालनका लागि तत्कालीन प्रतिनिधिसभा सदस्य तामाङलाई २०५६ भदौ ४ गते हस्तान्तरण गरेका थिए । उनले बरालसँग मिलेर जग्गा बेची संस्थाका नाममा १७ धुर मात्र बाँकी राखेका थिए ।
स्थानीय नागरिक समाजका अगुवा, राजनीतिक दल र विभिन्न संघसस्थाका प्रतिनिधि सामाजिक संस्थाको जमिन विक्री गर्नेलाई कारवाही र जग्गा फिर्ताको माग राख्दै सडकमा उत्रिएकाा थिए । तामाङ र बरालले जग्गा फिर्ता ल्याइसकेको दाबी गरेका छन । आफूहरूले डम्बरबहादुरसँग लिएको रकम ६ महिनाभित्र फिर्ता गर्ने लिखित सर्त गरेर गत शुक्रबारै जमिन संस्थाकै नाममा ल्याइसकेकोबरालले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।












