७ असार २०८३, आईतवार
,
Latest
मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई भत्ता दिँदै सामुदायिक वन



अ+ अ-

मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउदैँ आएको छ । सो सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो ।

वनजङ्गल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी रकमबाट प्रति ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप मासिक रु २०० उपलब्ध गराउँदै आएको सो सामुदायिक वनका अध्यक्ष राजकुमार रानामगरले बताए ।

विसं २०६७ देखि नै यहाँका ज्येष्ठ नागरिकलाई भत्ता स्वरुप वनले सो रकम उपलब्ध गराउँदै आएको उनले बताए । यसैगरी सो वनले एकल महिला र पुरुषलाई पनि मासिक रु २०० भत्ता रकम वितरण गर्दै आएको छ ।

अध्यक्ष मगरका अनुसार २०७५÷७६ मा ३६ जना ज्येष्ठ नागरिक, एकल महिला र पुरुषलाई भत्ता रकम वितरण गरेको छ । त्यस्तै रानीखोला सामुदायिक वन उपभोक्ता समितिले सुत्केरी भत्ता पनि उपलब्ध गराउँदै आएको छ । दुई बच्चा जन्माउनसम्मका लागि रु एक हजार सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ ।

दुईभन्दा बढी बच्चा जन्माउनेलाई भने भत्ता दिने गरेको छैन् । समितिले समूहमा आवद्धको जीविकोपार्जनदेखि वन र वन्यजन्तु संरक्षणको काम पनि गरिरहेको छ । जिल्लाको वरण्डाभार क्षेत्रका वनमा साझा संस्थामा रहेको १७ वन समूहमध्ये रानीखोला सामुदायिक वन समूह पनि एक हो ।

वन संरक्षणमा लागेवापत समितिलाई ४३ वटा भैँसी अनुदान प्राप्त भएको थियो । वरण्डाभार संरक्षित वन परिषद् कोषबाट प्राप्त भैँसी जीविकोपार्जनका लागि वन समूहका सदस्यलाई वितरण गरिएको अध्यक्ष मगरले भने ।

विसं २०५८ मा स्थापना भएको रानीखोला सामुदायिक वन उपभोक्ता समिति विसं २०६७ मा समुदायलाई हस्तान्तरण गरिएको हो । हाल समितिमा १५८ घरधुरी आवद्ध छन् ।